साहित्यकारलाई नै प्रधानमन्त्रीको साहित्यिक प्रवचन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन् ।

चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह प्रवचन दिएका हुन् ।

सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रशंसा गर्दै मुलुकको समग्र राजनीतिक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यंग्य गर्ने प्रधानमन्त्री ओलीले शनिबार आफ्नो सम्बोधनलाई साहित्यमा नै केन्द्रीत पारे ।

उनले साहित्यलाई जीवन्त र पाठकको ध्यान तानिरहने बनाउन असाधारण शैली प्रयोग गरिनुपर्ने बताए ।

‘साहित्यमा एउटा सानो विषयलाई कसरी प्रस्तुत गरिन्छ । त्यहाँ पसिसकेपछि, किताबको छेउमा पस्नुपर्छ, त्यसपछि त्यो किताब कस्तो छ भन्ने कुरा समय मान्छेलाई अभाव हुन्छ । त्यो बिर्स्यो कि बिर्सेन? महत्वपूर्ण कामहरु हुन्छ त्यो बिर्स्यो कि बिर्सेन ? थकाई लाग्या हुन्छ, त्यो बिर्स्यो कि बिर्सेन ? , निन्द्रा लाग्या हुन्छ त्यो बिर्स्यो कि बिर्सेन ?, भोक लागेको हुन्छ त्यो बिर्स्यो कि बिर्सेन? थुप्रै कामहरुको चाङ लाग्या हुन्छ त्यो बिर्स्यो कि बिर्सेन ?, सबै कुरा छोडेर त्यसैमा लाग्यो भने त्यो असाधारण हो । त्यसले छुट्न दिएन त्यहाँबाट समातेको समातेई यस्तरी गर्छ कि त्यो पहिले म सँग पारित गर्छ अनि मात्रै छुटकारा पाउछस् । त्यसको जादु त्यही हो ।”

उनले साहित्यमा विना प्रसंगका पात्रहरुले विषयवस्तुको सिलसिलालाई भंग गर्ने भएकाले त्यसमा पनि लेखक गम्भीर हुनुपर्ने बताए । मेरो जीवन कथामा आएका कतिपय पात्रले लेखक सायमिलाई बास्तवमै आफ्नै कथा लेख्नका लागि बाधा पुर्याएको टिप्पणी पनि उनले गरे ।

पेशाले चिकित्सक डाक्टर सायमिले गीतिलेखन, कविता, उपन्यास तथा समसायिक विषयमा कलम चलाउदै आएका छन् । उनको पछिल्लो कृतिको रुपमा आएको मेरो जीवन कथा आत्मकथालाई गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले प्रकाशन गरेको हो ।

२ सय ५२ पृष्ठको मेरो जीवन कथा भित्र डाक्टर सायमिको बाल्यकाल देखि स्कुल, शिक्षा, राजैतिक यात्रा,राजनीतिक व्यक्तित्वसँगको भेटघाट, संगत तथा २०६२ /६३ को जनआन्दोलन र महाभूकम्प २०७२ का प्रंसग समेटिएका छन् ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *