शहिद दिवस

 

आज माघ १६ गते शहिद दिवस मनाई रहेका छौ ऊनि हरू लाई सम्झदै श्रद्धाञ्जली अर्पण गर्दैछौ ।
र तिनै शहिद को बलिदान र आन्दोलन कारि को योगदान मा निर्मित संघिय गणतन्त्र नेपाल मा रहने सौभाग्य प्राप्त गरेका छौ ।

आज देश र बिदेश मा जहा जहा नेपाली हरू रहेका छन् । प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रता ,समानता का लागि बिभेद बिरोधि आन्दोलन मा जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवम् गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ।

यसैगरी दिउँसो लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेकामा हाल सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागबाट काम हुन थालेको छ।

स्मारक निर्माण सम्पन्न भएपछि सहिदगेटका चार सहिदको सालिक पनि गोकर्णमै स्थानान्तरणका लागि सरकारीस्तरबाट निर्णय भएको स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए। गोकर्णको जगडोल (यज्ञडोल) सामुदायिक वनको ६ सय ५० रोपनी क्षेत्रफलमा सहिद सङ्ग्रहालय, सहिदसम्बन्धी अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेर निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र रहेको स्मारक निर्माण समितिले जनाएको छ।

विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो। त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ। सहिदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन्।

कहिले कति सहिद घोषणा?

सहिदको परिभाषा गर्न हालसम्म दुई वटा आयोग गठन भए। पूर्वमन्त्री मोदनाथ प्रश्रित र नवराज सुवेदीको अध्यक्षतामा गठन भएका आयोगले सरकारलाई प्रतिवेदन पनि बुझाए। देश र जनताका लागि माफी नमागी मर्न चाहने चार सहिदलाई पहिलो श्रेणीको सहिद मान्नुपर्ने प्रश्रितले बताएका थिए। राम्रो काम गर्दागर्दै मर्छु भन्ने थाहा नभए पनि कारणवश मरेका पनि सहिद हुने भनी प्रतिवेदन बुझाइएको उनले सुनाए।

२०४६ को प्रजातन्त्र पुनर्स्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ सहिदलाई सम्मानस्वरुप सरकारले जनही १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। त्यस्तै २०६२/६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई सहिद घोषणा गरियो। दुई पटकको तथ्याङ्क सार्वजनिक रुपमा खोज्दा पाइए पनि अरू सहिदको सरकारसँग स्पष्ट तथ्याङ्क छैन। २०६२/६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि सहिद घोषणा गरियो।

२०७४ माघ ३ गते विभिन्न आन्दोलनमा मारिएका १ सय ९० जनालाई सहिद घोषणा गरिएकाे गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले हाल सम्पूर्ण सहिदको तथ्याङ्क सूची सङ्कलन गरी स्पष्ट अभिलेख राख्न सुरु गरेको जनाएको छ। यद्यपि मन्त्रालयसँग हालसम्म कति सहिद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ भने छैन। सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सिफारिसमा एक हजार ६ सय १९ जनालाई सहिद घोषणा गरेको थियो।

त्यस्तै, सरकारले २०६५ पुस ९ गते ६ हजार ३ सय ४४ जनालाई सहिद घोषणा गरेको बताइए पनि त्यसको आधिकारिक तथ्याङ्क पाउन सकिएको छैन। साथै पटक-पटकको तराई मधेश आन्दोलन र मुलुकभर भएका पहिचानका विभिन्न आन्दोलनमा मारिएका कति व्यक्तिलाई सहिद घोषणा गरियो भन्ने यकिन तथ्याङ्क भेटिँदैन। सरकारले ती आन्दोलनमा मारिएका व्यक्ति र भएको क्षतिबारे यकिन गर्न विभिन्न आयोग गठन गर्‍यो। आयोगलाई सहिद शब्दलाई परिभाषित गर्ने जिम्मेवारी पनि तोकियो।

मुलुकमा पछिल्लो पटक झै-झगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र १० लाख रुपैयाँ आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा ठेस पुगेको सहिद परिवारको गुनासो छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ती बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ। नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ। थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचारप्रसार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकैको रूखमा झुण्ड्याएर मारिएको थियो। थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए।

गृह प्रवक्ता रामकृष्ण सुवेदी विभिन्न समयमा सहिद घोषणा गरिएकामा कतिपयको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको भए पनि ती सबै आधिकारिक तथ्याङ्क मन्त्रालयसँग नभएको बताउँछन्।

मन्त्रालयले हालै विभिन्न आन्दोलनमा मारिएका चार सुरक्षा निकायका २ हजार ८ सय ७ जनालाई सहिद घोषणाका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पठाएको जानकारी उनले दिए। जसमा नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४ सय ४८, सशस्त्र प्रहरी बलका ३ सय १८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जना छन्। पछिल्लो समय सहिद घोषणा हुनेले राज्यबाट १० लाख रुपैयाँ पाउने गरेका छन्।
यसले शहिद को संख्या बढाए पनि त्याग को ऊचाई लाई कम गर्नु को साथै भावना र सम्मान मा गिरावट आएको छ ।
बास्तवमा जो शहिद हुन् ऊनि हरू लाई साथै दशरथ चन्द, गंगा लाल, धर्म भक्त,र शुक्रराज जस्ता शहिद लाई भाव पुर्ण श्रद्धाञ्जली!

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *