फोटो यताबाट हैन त्यताबाट खिच्नु मेरो श्रीमतीको पनि आउने गरी,’ मौनता चिर्दै

‘फोटो यताबाट हैन त्यताबाट खिच्नु मेरो श्रीमतीको पनि आउने गरी,’ मौनता चिर्दै उनले भने।क्यामराको अगाडि फर्किनुअघि सोफाबाट फोटो भएतिरै फर्किए। भित्तामा रहेको यशोदाको फोटो एकछिनसम्म हेरिरहे। त्यसपछि फेरि मौन भए।

उनी बसेको ठीक पछाडिको भित्तामा श्रीमती यशोदाको फोटो टाँगिएको छ। आफ्नो फोटो खिच्दा पछाडि रहेको तस्बिर पनि अटावस् भन्ने उनको चाहना। फोटो सेसनमा रहेका उनी को हुन् परिचय दिइरहनै नपर्ला। उनी अर्थात्, मदनकृष्ण श्रेष्ठ।

ललितपुर सुनाकोठीस्थित आफ्नै घरमा छन् उनी। लिभिङ रुममा चुपचाप बसिरहेका। रङ्गमञ्चदेखि टेलिभिजनका स्क्रिनसम्म सबैलाई हसाइरहने उनको अनुहार भने उदास लाग्छ। कुनै गहिरो सोचमा डुबेजस्तो एकोहोरिरन्छन् आजकल। ‘पार्किन्सन’ रोगसँग संघर्ष गरिरहेका उनलाई हिँड्डुल गर्न गाह्रो छ। बोली प्रष्ट बुझिन्न्। हसिमजाक र गीतमा गुन्गुनाइरहेका यिनलाई पर्दा देखिरहने जो कोहीका लागि पनि अहिलेको दृश्य विश्वास योग्य होइन।

रोग र शोकसँग भिडिरहेका श्रेष्ठ धेरैजसो मौन छन्।  एकातिर श्रीमती बित्नुको पीडा अर्कोतिर पार्किन्सन जस्तो जटिल रोगसँगको संघर्ष। यस्तो अवस्थामा तन्दुरुस्त हुन् कसरी? अनि पहिलोजस्तो हँसिलो  कसरी देखिनु या अरुलाई हसाउँन सकुन्? त्यसैले फूर्सदमा छन्, आजकाल। प्राय: घरमै भेटिन्छन्।

***
फ्लासब्याक : सन् २०१०

आठ वर्षअघि श्रेष्ठ फिल्डमै काम गरिरहेका थिए। अचानक दाहिने खुट्टा अररो हुन थाल्यो। लाग्यो, धपेडी बढी भयो। वास्ता गरेनन्। तर, समस्या दाहिने हात हुँदै बिस्तारै शरीरको दाहिने हरतिर सर्‍यो। पूरै अररो हुने गरी चलाउन अप्ठ्यारो हुने भयो। समस्या बढ्दै गएपछि उनी काठमाडौं मोडल अस्पताल गए। त्यसपछि थाहा भयो, उनलाई त ‘पार्किन्सन’ भएछ। त्यतिबेला उनी छाँगाबाट खसेजस्तो भए।

त्यसपछि बिस्तारै शरीर यताउता गर्नबाहेक चलाउन सम्भव भएन। उपचार जारी राखे पनि गाह्रो हुन छोडेन। मष्तिष्कको अपरेसन गर्नुको विकल्प थिएन। तीन वर्षअघि मष्तिष्कको अपरेशन गरेर पेसमेकर राखियो। १ महिनाअघि उनको अर्को मष्तिष्कमा पनि पेसमेकर राखिएको छ।

भन्छन्, ‘यसअघि म एकपटक पनि अस्पताल बस्नेगरी कुनै बिरामी  भएको थिइन। एकैपटकमा यस्तो जटिल रोग लाग्यो।’

उनको दुवै मष्तिष्कमा ‘डिपिएस’ नामक पेसमेकर राखिएको छ। यो पेसमेकरले दिमागमा बाह्य संदेश प्रवाह गर्छ। मस्तिष्कमा राखेको उक्त मेसिनको ब्याट्रीले अझै सात वर्ष काम गर्ने श्रेष्ठ बताउँछन्।

पार्किन्सन अत्यन्तै जटिल रोग हो। यसले हातखुट्टा चलाउन गाह्रो बनाउँदै लैजान्छ। कालान्तरमा मष्तिष्कमा एट्याक गर्छ। यो रोगको विशेषता नै मानिसलाई शारिरिक र मानसिक रुपमा सक्रिय हुन नदिनु हो।

श्रेष्ठ यही जटिल रोगसँग संघर्ष गरिरहेका छन्। ठीक हुनका लागि नियमित हिलिङ थेरापी गर्छन्। औषधि नियमित छँदैछ। मष्तिष्कमा राखिएको पेसमेकरले पनि काम गरिरहेको छ।

बिस्तारै ठिक हुँदै गएका छन् उनी।

श्रेष्ठ हामीसँगै विस्तारै बात मारिरहेका छन्। छिनछिनमा आफ्नै कोठामा यताउता हेरिरहन्छन्। केही खोजिरहेको जस्तो भान हुन्छ। बसेको ठाउँ पनि छिनछिनै सर्छन। एकोहोरिन थालेपछि सामुन्ने अरु कोही छ भन्ने याद हुन्न उनलाई। तर, चस्मा र औषधि भने साथमै राख्छन्। औषधि र चस्मा बिर्सिनु ठूलो गल्ती हुनेछ उनका लागि। त्यसैले हरबखत त्यसैलाई नै नजर लगाइरहन्छन्।

श्रेष्ठ कलाकारिताको कुरा गर्ने मुडमा छैनन्। सफलताको कथा सुनाएर थाकिसकेको बताउँछन्। संघर्ष र वियोगको कथा प्रिय लाग्छ उनलाई। पीडाको कथा सुनिदिने मान्छे भेटे आनन्द मान्छन्। एक्लोपनको कथा सुनाउन पाए खुशी हुन्छन्। बिरक्तिँदै बोल्छन्, ‘मृत्युको कुनै औषधि छैन। यसलाई स्वीकार्नुपर्छ।’

एकछिन मौन बसेर आफ्नै कुरा काट्छन्, ‘सक्रियताले मृत्युलाई केही टाढा धकेल्छ। अहिले म त्यही गर्ने कोसिसमा छु।’

जीवनको लय जस्तै रुटिन पनि फेरिएको छ, श्रेष्ठको। पहिला जस्तो उठ्नासाथ सुटिङमा जाने धपेडी छैन। बिहान उठेर घरवरिपरि टहलिन्छन्। छरछिमेकसँग बात मार्छन्। धेरै जसो समय आफ्नै संसारमा हराउँछन्। विकल्प छैन, एक्लै रमाउँछन्।

 

कहिलेकाहीँ त आफूलाई पार्किन्सन भएको समेत बिर्सन्छन्। ‘स्वस्थ छु’ भन्ने ठानेर उठ्न खोज्दा खुट्टा सजिलै चल्दैन। अनि आफ्नो हालतसँग साक्षत्कार हुन्छन्। हात खुट्टा बस्दाबस्दै कक्रक्क पर्छ। हिँड्डुल गर्दा केही न केही सहारा नभइ हुँदैन। त्यसपछि आफू विरामी छु भन्ने महसुस नगरी सम्भव होला त?

उनलाई भेट्न घरमै कलकार, नेता तथा पार्किन्सनका उनीजस्तै बिरामी पुगिरहेका हुन्छन्। भेटघाटमा पुग्ने शुभचिन्तककसँग धेरै बोल्न सक्दैनन्। स्वास्थ्य लाभको कामना गर्न आएका नेताहरुलाई व्यंङ्ग्य गर्न भने छाड्दैनन्,  ‘यो पार्किन्सन र भष्ट्रचार उस्तै हो। दुवैको जरा माथि टाउकोमा हुन्छ। पार्किन्सनले मानिसलाई बर्बाद पार्छ भष्टाचारले देशलाई।’

नेताहरु मुसुक्क हाँस्छन् उनका कुरा सुनेर।

आफूमा साहस भएकै कारण पार्किन्सनसँग संघर्ष गर्न सकेको बताउँछन्, उनी। तै पनि पहिले झै उत्साह छैन। हिम्मत बिस्तारै घटेको छ। जिन्दगी सोचेजस्तो नहुने अनुभव गरेका छन्। जीवन एकनास नभएकोमा गुनासो  पनि छैन। सर्वश्व भ्रम लाग्न थालेको छ उनलाई। भन्छन्, ‘जिन्दगी भ्रम नै भ्रम हो। हामी सबै भ्रममै रमाइरहेका छौं।’

श्रीमतीको मृत्यु पनि भ्रम नै लाग्छ उनलाई। बिरामी भएको पनि भ्रम नै ठान्छन्। यथार्थ बिर्सिएर भ्रममा रमाउन नै निको लाग्छ। उनकै शब्द सापटी लिने हो भने , ‘उनकी श्रीमती यशोदा बिरामी भएकै थिइनन्। उनलाई छोडेर यशोदा कतै गएकी नै छैनन्।’

तर, यथार्थ कहाँ त्यस्तो छ र!

फ्लासब्याक : सन २०१२

६ वर्षअघि यशोदालाई अस्पतालमा परीक्षण गराउन गएका थिए मदनकृष्ण। यशोदालाई फोर्थ स्टेजको क्यान्सर भएको त्यतिबेला नै थाहा पाए। उनी आफै पार्किन्सनसँग लडिरहेका। अर्को बज्रपात पर्‍यो। छाँगाबाट खसेजस्तो भए। चिकित्सकहरुले मिति नै तोकेर भनिदिए, ‘अब उहाँलाई दुई चार वर्ष बचाउन पनि गाह्रो छ।’

तै पनि हिम्मत हारेनन्, उनले। यशोदाले पनि बाँच्ने साहस गरिन्। धेरै अस्पताल चहारे। नेपालका र विदेशका विभिन्न अस्पतालमा उपचार गराए। उपचारले आयु त लम्ब्याउन सक्यो तर मृत्यु टार्नु कसरी? १० महिनाअघि यशोदाको अस्पतालमै मृत्यु भयो। उनलाई अर्को बज्रपात आइलाग्यो।

‘त्यत्रो फोर्थ स्टेजको क्यान्सर लाग्दा पनि ६ वर्ष त टिकाउन सकेँ मैले, त्यत्रो बाँच्छ भनेर कसैले आश गरेका थिएनन्,’ श्रेष्ठ भावुक सुनिए।

अहिले पनि कतै बाहिरबाट आउँदा श्रीमती यतै बार्दलीमा छिन् कि जस्तो लाग्छ उनलाई। बैठक कोठाको कुनै सोफामा बसेर उनलाई नै हेरिरहेकी छिन् कि भन्ने महसुस गर्ने रहेछन्। कहिले काहीँ त भान्सामा खाना पकाउँदै छिन् कि भनेर हेर्न पुग्दा रहेछन्। तर, त्यहाँ यशोदा होउन कसरी?

 

अनि आफैँलाई गाली गर्छन्, ‘किन विश्वास गर्दैनस् तँ? यशोदा यो संसारमा छैन अब।’

फुर्सदमा भएकाले श्रीमतीको धेरै याद आउने बताउँछन्। भुल्न सक्ने कुरा पनि होइन। यादमा भुल्न कहिले एल्बममा रहेको फोटो हेर्छन्। कहिले कोठामै यतात्यता गरेर मन बुझाउँछन्। उनी नभएको थाहा हुँदा हुँदै पनि भान्सामा गएर बोलाउँछन्।

‘थाहा छ नि उ छैन भन्ने। तर, मन मान्दैन्,’ मलिन आवाजमा भन्छन्, ‘मनलाई बुझाउन नि यस्तो गर्नेगर्छु।’

श्रीमतीका कुरा गर्दागर्दै मदनकृष्णका आँखा रसाइसकेका थिए। अनि, बोल्दा बोल्दै गीत गाउन थाले उनी।

रात है भरी तिमीसँग मैले कुरा गरेको गर्‍या थिएँ…
सँगसँगै हिँडुम् भन्ने थियो मलाई किनकि म परै थिएँ..
ब्युँझिएर हेर्दा पो चाल पाएँ, त्यो त सपना रहेछ मीठो
त्यो त सपना रहेछ मीठो…

भित्तामा हेर्दा मज्जाले तिमी हाँसिरहेको देखेँ
जताजता जान्थेँ उताउतै मलाई हेरिरहेको देखेँ
दोहोर्‍याएर हेर्दा पो चाल पाएँ तस्विर रहेछ तिम्रो
तस्विर रहेछ तिम्रो…

पत्नी वियोगमा आफैँले लेखेको गीत गाएपछि एकछिन फेरि मौन भए। अनि मलिन स्वरमा बोले, ‘के गर्नु  यस्तै रहेछ जिन्दगी। आफैलाई कन्भिन्स गर्नुपर्छ।’

रोगसँग पैठेजोरी खेलिरहेका उनी अझै पनि सक्रिय हुन प्रयास गरिरहेका छन्। शरीरले काम नगरे इशाराले समेत काम गर्ने सुनाउँछन्। त्यसैले त ‘हरिवंश एक्लै जोतिएर काम गरिरा’छ आफूले सकेको छैन’ भन्ने सोचेर ‘बोर’ मान्छन्। भन्छन्, ‘स सानो काममा अझै नै ‘इंगेज’ भइरा’छु तर पहिला जस्तो सकेको छैन।’

त्यसैले त काम गर्न मन लागिरहरन्छ उनलाई।

पहिलाजस्तो काम गर्न नसकेकाले ‘बोर लाग्छ’ भन्छन्। बस्दाबस्दै जिन्दगीको गति नै रोकिने हो कि भन्ने डर पनि उनमा छ। कलाकार जस्तो मान्छे एउटै घरमा गुम्सिएर बस्न नसक्ने सुनाउँछन्। भन्छन्, ‘काम गरुँ हिँड्डुल गर्न सक्दिन घरमै बस्न पनि दिक्क लाग्छ।’

***
तेह्र वर्षदेखि छोराछोरी अमेरिकामा। साथमा श्रीमतीमात्रै। उनी बितेपछि पूरै एक्लै। घरमा निसास्सिन थालेको अनुभूति भयो। अनि अमेरिकामा रहेको छोरा यमनलाईलाई भने, ‘म त एक्लै बस्न नसक्ने भए यहाँ। उता अमेरिकामा नि बस्न सक्दिन्। के गर्ने हो?’

मदनकृष्णको त्यो बोलीले छोरा बुहारी नै नेपाल फर्किए। उनी ढुक्क भए। बिहान बेलुका बात मार्न साथी पाए।

छोरा यमन पनि कलाकार नै हुन्। नाटक  निर्देशन, लेखन र गीत पनि गाउँछन्। कलाकारितामा छोरा लागेकाले खुशी छन् उनी। भन्छन्, ‘दिगो फिल्ड नभए पनि क्रियटिभ फिल्डमा छ, खुशी लाग्छ।’

श्रेष्ठ आफ्नो जीवनदेखि असन्तुष्ट छैनन्। कोहीप्रति गुनासो पनि छैन। ‘जिन्दगीमा जे जति गरियो सन्तुष्ट छु म। कुनै पश्चाताप छैन,’ विस्तारै सुनाए उनले।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *