माडौं – ‘पैसा होइन पासो छ परदेशमा बोलाउँदै छन् आफन्तले स्वदेशमा

काठ

माडौं – ‘पैसा होइन पासो छ परदेशमा
बोलाउँदै छन् आफन्तले स्वदेशमा
पन्छी फर्केर स्वदेश आऊ
शान्तिको गुँड सानो देशमै बनाऊ….’

एक महिनाअघि ‘नेपाल आइडल’को मञ्चमा प्रतिष्पर्धी अमित बरालले ‘पन्छी’ बोलको यो गीत गाउँदा उपस्थित अधिकांशका आँखा रसाएका थिए। निर्णायकको कुर्सीमा बसेकी इन्दिरा जोशी त ग्वाँग्वाँ रोएकी नै थिइन्। उनले आँखाभरी आँसु पार्दै गीतले विदेशमा रहेको आफ्नो कान्छो भाइलाई सम्झाएको बताएकी थिइन्।

खासमा यो गीतले त्यतिबेला मञ्चमात्रै रुवाएको थिएन, रियालिटी सो हेरिरहेका दर्शक पनि रुवाएको थियो। सामाजिक सञ्जालभर अमितको प्रस्तुतिको चर्चा भएको थियो। तर त्योभन्दा पनि बढी चर्चा गीतका वास्तविक गायक पुष्पन प्रधानकोे भयो।

उड्न त पुष्पनको ‘पन्छी’ पाँच वर्ष अघि नै उडेको थियो। तर विश्वभर फरफराउन सकेको थिएन। ठूलो संख्यामाझ पुग्न सकेको थिएन। जब नेपाल आइडलको स्टेजमा अमितले यो गीत गाए, पुष्पन एकाएक विश्वभर छाए। पुष्पन हरेकका मोबाइल, ल्यापटप र कम्प्युटरमा खोजिन थाले।

आफू चिनिने लक्ष्य बोकेर रियालिटी सो पुगेका एक प्रतिष्पर्धी अमितका कारण छायाँमा रहेका पुष्पन अहिले संसारभर नेपाली संगीतका पारखीको नजरमा परेका छन्। उनको घर भारतको पश्चिम बंगालस्थित डुवर्सको गाउँमा छ। तर उनमा नेपाली कला, भाषा र संस्कृतिप्रति अथाह प्रेम छ। भन्छन्, ‘जहाँ रहे पनि आखिर हुँ त म नेपाली।’

१९ वर्षदेखि नेपाली संगीतमा संघर्षरत पुष्पनलाई गाउँमा उनका स्वर मनपराउनेहरूले पहिल्यैदेखि सुझाउँथे– तिमी पनि रियालिटी सोमा भिड्न जाऊ, पपुलर हुन्छौँ। कतिले त उनलाई नेपाल आइडलमै भिड्न पनि सुझाएका थिए। तर उनले कहिल्यै मानेनन्।

बिहीबार उनी एकाएक नेपाल आइडलको स्टेजमा देखापरे। तर प्रतिष्पर्धीका रुपमा होइन, प्रतिष्पर्धीका आइडलका रुपमा। ‘पन्छी’ गाउने अमितसँगै उनी अमितकै आइडलका रुपमा स्टेजमा उत्रिए र गाए अर्को प्रिय गीत ः
‘बाबुको जुँगो बन्धकी राखेको
आमाले गुन्यू चोलो साटेको
तिमीले त बिर्सेछौँ…’

सन्तानप्रति आमाबुबाको प्रेम झल्काउने र उनीहरू वृद्धवृद्धा भएपछि छोराछोरीले गर्ने व्यवहारलाई प्रहार गर्ने यो गीतले फेरि एकपल्ट मञ्च रुवायो। मञ्चमात्रै होइन संसारभरका दर्शकलाई भावुक बनायो।

‘अचम्म लागिरा’छ यो चर्चा देखेर,’ शनिबार काठमाडौं, अनामनगरिस्थत एक क्याफेमा गफिँदै पुष्पनले भने, ‘संसारभरबाट भ्याइनभ्याइ फोन र म्यासेज आइरहेको छ। तपाईको गीतले रुवायो भन्दै प्रतिक्रिया दिइरहेका छन्। म निःशब्द छु। त्यतिबेला मेरा गीतहरु किन चलेनन् भनेर दुःख लाग्थ्यो। सायद अहिले यसरी चल्नु लेखेको रैछ।’

रियालिटी सोमा प्रतिष्पर्धी बनेर नजाने संकल्प गरेका उनी अहिले प्रतिष्पर्धीको आइडल बनेर पुग्दा दंग छन्। अमित बराल आफ्नो जीवनमा विधाता बनेर आएको बताइरहेका छन्। तर धेरैले थाहा छैन, उनले गाएको ‘पन्छी’ गीत १२ वर्षअघि नै लेखिएको हो।

त्यतिबेला उनले यो गीत आम नेपालीको प्रतिनिधित्व गरेर लेखेका थिएनन्। उनका केही प्रिय गायकहरू राजु लामा, कर्ण दास, फिरोज स्याङ्देन धमाधम विदेश जान थालेपछि उनको मन भित्रभित्रै पोल्यो – ‘ला…अब हाम्ले यस्तो गीत सुन्न पाउँदैनौ होला। विदेशमा यताको जस्तो माया र सम्मान उता उहाँहरूलाई अब मिल्दैन होला।’

‘मलाई साधारण मान्छेको कथा त थाहा थिएन तर मैले असाध्यै प्रेम गरेका ति कलाकारको कथाले मलाई भित्रभित्रै पोलेको थियो,’ भावुक हुँदै पुष्पनले सम्झिए, ‘तर हामीसँग उहाँहरूलाई दिनलाई प्रेमबाहेक अरु के नै थियो र ! त्यसैले उनीहरुलाई स्वदेश फर्कन अनुरोध गर्दै मैले गाएँ– पन्छी फर्केर आऊ।’

विडम्बना उनले त्यतिबेला सिर्जना गरेको ‘पन्छी’ बल्ल विश्वभर उड्दैछ। लामो समयदेखि भुईँ टेकिरहेका पुष्पनलाई त्यही ‘पन्छी’ ले बल्ल संगीतको दुनियाँमा उडाउँदैछ। अनि दर्शकमाझ उनका गीतहरु फिजिदैछन्। अहिले पुष्पनलाई लाग्दैछ, ‘पन्छी त कलाकारको मात्रै होइन सारा नेपालीको कथाव्यथा रहेछ।’

पुष्पनको पढाउने चाहना
अहिले सर्वत्र पुष्पन र उनका गीतको चर्चा छ। देशविदेशबाट उनलाई स्टेज कार्यक्रमको प्रस्ताव बढ्दो छ। यि सब कुरामा पुष्पन खुशी छन् तर फुर्किएका छैनन्। अहिले उनलाई विदेशका स्टेज चढ्नुभन्दा बढी हतारो आफ्नो गाउँमा झर्नु छ। कारण– उनी मिस गरिरहेछन् आफ्ना ससाना विद्यार्थी। गाउँको प्राथमिक सरकारी विद्यालयमा उनी स्थायी शिक्षक हुन्। ‘म ति नानीहरूलाई खुब सम्झिरहेछु। तिनीहरूलाई भेट्न गाउँ हेर्न हतार भइरहेको छ। कम सहयोग गरेका छैनन् उनीहरूले मलाई ’उनले भावुक हुँदै सुनाए।

काठमाडौं आउनुअघि उनले ति नानीहरूका लागि गितार र ढोलक बोकेर गाउँगाउँमा देउसी खेलेका रहेछन्। सुनाए, ‘यो चर्चा  मसँग सधैँ हुँदैन। तर मेरो गाउँ, ति नानी , आफन्त, साथी र यादहरू मसँग सधैँ रहिरहेनछन्।’

आफै सिक्दै, आफै गाउँदै
होस भएदेखि नै पुष्पन संगीतका पारखी थिए।  स्कुलमा पनि टेबल ठटाएर गीत गाउँथे। तर स्टेजमा भने चढ्न लजाउने। एकदिन स्कुलका साथीहरूले जर्बजस्ती घोक्राएर स्टेज चढाए र गाउन लगाए। ‘यसरी विस्तारै गल्ती गर्दैगर्दै यहाँसम्म आइपुगेँ,’ उनले बताए , ‘तर मैले कतै गएर संगीतका राग सिकेका छैन। मेरो मन नै मेरो गुरु हो। ’

पुष्पनका अधिकांश गीतहरू समाजको प्रतिबिम्बजस्तो लाग्छ। हरेक गीतमार्फत उनी केही न केही कथा भन्न खोजिरहेजस्तो लाग्छ। ‘पन्छी’ र ‘बाबुको जुँगो’ त उदाहरणमात्रै हुन्। उनका मुटु छुने अरु गीतहरू पनि छन् जहाँ देश र समाजको चिन्ता पाइन्छ, विकृति विसगंतिमाथि व्यंग्य र प्रहार पाइन्छ।  ‘ठूल्दाजु’, ‘ए सरकार’, ‘तुइन’, ‘डम्पिङ ग्राउन्ड’, ‘पूर्व गए पूवै’ आदि उदाहरण हुन्।

 

 

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *