बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ ।

आगलागीका कारण जलेका ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन ४८ लाख सहयोग गर्ने भएको हो । आगलागी भएको खबर पाएसँगै तत्काल पोखराबाट हेली मगाई बुर्तिवाङ हुँदै ढोरपाटन पुगेका नगर प्रमुख देवकुमार नेपालीसहितको टोलीले घटनास्थलको प्रत्यक्ष अवलोकन गरी पीडितलाई घर बनाइदिने प्रतिबद्धता जनाएको हो ।

घटनास्थलको अनुगमन निरीक्षण तथा पीडितको गुनासो सुनेपछि नगरप्रमुख नेपालीले नगरको विपत् व्यवस्थापन कोषबाट त्यहाँका आगलागीपीडितको घर निर्माण गर्न भन्दै प्रतिपरिवार एक लाखका दरले ४८ लाख नगरपालिकाबाट उपलब्ध गराउने बताएका हुन् ।

उनले घरको छाना छाउने जस्तापाताका लागि आफ्नो व्यक्तिगत सहयोग हुने प्रतिबद्धता जनाए । नगर प्रमुखको प्रतिबद्धतापछि त्यहाँका आगलागीपीडित खुसी भएका छन् । नगरप्रमुख नेपालीले तत्काल त्यस स्थानमा नगरपालिकाका तर्फबाट इन्जिनियर पठाएर सबैको एकैखालको भूकम्पप्रतिरोधी एक/एक तले, दुईकोठे शौचालयसहितको एकै प्रकारको घर निर्माण गरिने बताए ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *