युवती प्रयोग गरेर ‘अन्तरङ्ग’ भिडियो, त्यसपछि व्यवसायीसँग ब्ल्याकमेलिङ !

काठमाडौँ । युवती प्रयोग गरेर व्यवसायीलाई ब्लाकमेलिङ र एक्सर्टशन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेती रहेका छन् ।

महिलालाई प्रयोग गरी ती व्यवसायीसँग अन्तरङ्ग भिडियो बनाएर पैसा असुल्न खोजेको उनीहरुमाथि आरोप छ ।

प्रहरीका अनुसार ललितपुरको कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायीलाई उनीहरुले ब्ल्याकमेलिङ गरेका थिए।

यस्तो छ घटनाको विवरण

इन्दिरा उप्रेतीले फेसबुकमा निशा अधिकारीको नामबाट तीन व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । कुराकानीको क्रममा उनले व्यवसायीसँग मोबाइल नम्बरसमेत लिएकी थिइन् ।

पछि उप्रेतीले व्यवसायीलाई फोन गरी ‘तपाईंको अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भन्दै गत असार १ गते दिउँसो ‘निशा अधिकारी’ बनेर अफिसमा पुगेकी थिइन् ।

त्यहाँ पुगेपछि उनले आफ्नो वास्तविक नाम ईन्दु भएको र घर झापा जिल्लाको बुधवारेमा पर्छ भनेर परिचय दिएकी थिइन् ।

त्यसअघि नै उनले ती व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरेकी थिइन् ।

त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी चुम्बन समेत गरेर त्यहाँबाट निस्केकी थिइन् ।

उनी त्यहाँबाट गएपछि आफूलाई ‘गणेश लामा’ बताउने व्यक्तिले ती व्यवसायीलाई इमोबाट फोन गरी सो अन्तरङ्ग पलको भिडियो रेकर्ड आफूसँग रहेको भन्दै रकम माग गरेका थिए ।

प्रहरीका अनुसार एक करोड रुपैयाँ रकम नदिएमा युट्युब र फेसबुकमा अपलोड गरी वेइज्जत गरिदिन्छु भन्दै ती व्यक्तिले वार्गेनिङ गर्दै आइरहेका थिए ।

यस विषयमा प्रहरीलाई उजुरी दिएपछि अनुसन्धान गर्दा घटनामा वद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीको संलग्नता रहेको खुल्न आएको थियो ।

लामिछानेलाई कार्तिक ६ गते बेलुका गौशालाबाट पक्राउ गरिएको थियो भने उप्रेती आज दिउँसो टेकुबाट पक्राउ परिन् ।

दुवैमाथि अपराधिक लाभ (एक्सटर्शन) को कसूरमा अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *