आइसीसी टि–२० विश्वकप छनोटः नेपालको लगातार चौथो जीत, भुटान ११७ रनले पराजित

म्यान अफ द म्याच घोषित नेपाली ब्याट्सम्यान प्रदिप ऐरी

काठमाडौं। आइसिसी विश्व टी–२० छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जीत हात पारेको छ । आज भएको भुटानविरुद्धको खेलमा नेपालले ११७ रनको जीत निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भुटान १६.४ ओभरमा ३३ रन बनाउँदै अलआउट भएको छ ।

नेपालका लागि सबैभन्दा बढी प्रदिप ऐरीले नटआउट ७५ रन बनाए । उनले २ छक्का र ४ चौकाको सहयोगमा ७५ रनको योगदान गरेका हुन् । प्रदिप म्यान अफ द म्याच भए । त्यस्तै अनिल कुमार शाहले २७ रन, आरिफ शेखले १३, दिपेन्द्र सिंह ऐरीले १५ र करण केसीले नटआउट ११ रनको योगदान गरे। त्यस्तै फिल्डिङमा रहेको भुटानका लागि थिन्ली जाम्सो, सन्जिभ गुरुङ, जिग्मे सिङगे, रमेश लिम्बुले १÷१ विकेट लिएका लिए ।

जवाफी ब्याटिङमा उत्रिएको भुटान १६.४ ओभरमा ३३ रनमै समेटियो । भुटानको इनिङलाई सस्तैमा समेट्न ललित राजवंशी र सन्दिप लामिछानेले ३–३ विकेट लिए । बसन्त रेग्मीले २, दिपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट लिए । भुटानका लागि नौ विकेट गइसकेपछि तेन्जिङ वाङचुक जुनियरले टिकेर ११ रनको योगदान दिए । यसबाहेक अन्य कुनै ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन ।

यो नेपालको लगातार चौथो जीत हो । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यान्मार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । अब नेपालले सिंगापुर र चीनसँग खेल्न बाँकी छ । सिंगापुर तुलनात्मक रुपमा बलियो छ । उसले पनि नेपालले जस्तै अहिलेसम्म ४ खेल खेलेकोमा सबै खेल जितेको छ । यद्यपि नेट रनरेटको आधारमा नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *