मेरो मत राख्ने ठाउँ खोइ? पार्टीमा लोकतान्त्रिक स्पेस खुम्चिँदै गयो: योगेश भट्टराई

नेकपाभित्र पार्टी सञ्चालन विधि र पद्दतिअनुसार नभएको भन्दै नेतृत्वको आलोचना सुरू भएको छ। बरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति सदस्यहरूलाई चियापानमा डाकेपछि विवाद झनै चुलिएको छ। यही पृष्ठभूमिमा सेतोपाटीका मनोज सत्यालले नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश:

 

यो अन्तर्वार्ता भित्र
पार्टी एकताअघि बढाउने काम एक किसिमले निर्मला बलात्कार-हत्या काण्डको छानबिन जस्तो भयो, सुरूमै बाटो बिराएजस्तो।
विधान छपाउँदा जे-जस्ता परिवर्तन गरियो, त्यसलाई म छलछाम नै भन्दिनँ। तर, पार्टीमा आसय र नियत भने राम्रो देखिएन।
दुई पाइलटले जेट विमान उडाउँदा उहाँहरूले विधि र प्रक्रियालाई अंगिकार गर्नुपर्‍यो नि। नत्र त ‘क्र्यास’ हुन सक्छ।
यो पार्टी निर्माणमा धेरै मान्छेले जीवन लगाएका छन्। यो कुनै एकाध मान्छेको दिमागले बनेको पार्टी होइन।
अरिंगाल बन्ने कि मौरी? यो बेतुकको बहस हो। मान्छे बन्ने। मार्क्सवादी मान्छे। मार्क्सवादी भन्नेबित्तिकै उसमा आलोचनात्मक चेत हुन्छ।
मलाई पद खोसिएला भन्ने कुनै फिक्री छैन। नागरिकता नखोसिएला, देश निकाला नहोला। शरणार्थी भएर कतै भाग्नुनपर्ला। त्यो त मेरो पार्टी अध्यक्षले खोस्नु हुन्न होला। प्रधानमन्त्रीका हिसाबले खोस्नु हुन्न होला। त्योबाहेक त सबै कुरा सुम्पन्न तयार नै छु।

पार्टी एकीकरणको पाँच महिना पुगिसक्दा पनि नेकपाको एकता प्रक्रिया अझै टुंगोमा पुगेको छैन। नेकपाभित्र पार्टी एकताको उत्साह घटेको हो?
चुनावलगत्तै एकता गराउन पाएको भए अहिलेभन्दा ज्यादा उत्साह हुने थियो। त्यसको जग निर्वाचनले खडा गरेको थियो।पार्टी मिल्ने दुई आधार हुन्छन्। एउटा सैद्धान्तिक आधार, जुन नेतृत्वले तयार गर्नुपर्छ। अर्को व्यावहारिक आधार, जुन कार्यकर्ता र जनताले बनाउने हो। व्यावहारिक आधारको भावना चुनावका बेला थियो। चुनावलगत्तै एकता भएको भए पार्टी अगाडि बढिसक्थ्यो। सरकार पनि योभन्दा राम्रोसँग अगाडि बढ्थ्यो। तर ढिला भए पनि एकता भयो। जुन अनिवार्य थियो किनभने हामी मोर्चा बनाएर चुनावमा गएका थियौं। चुनावमा जनताले अमुक नेतालाई मात्र जिताएका होइनन्। पार्टी एकता अनुमोदन गरेका हुन्। एकता जनता अनुमोदित हो।विभिन्न स्वार्थले ढिला भयो। तर ढिलै भए पनि सही काम भयो। जेठ ३ गते औपचारिक एकता घोषणापछि हामीले पाँच महिना बिताइसक्यौं। यो अवधिमा हामी अलमलिएका छौं। कुन बाटो जाने भन्ने स्पष्ट गर्न सकेका छैनौं। एकता अघि बढाउने काम एक किसिमले निर्मला हत्या-बलात्कार काण्डको छानबिनजस्तो भयो, सुरूमै बाटो बिराएको। सुरूवातमै एउटा बाटो लिएर गएको भए हुन्थ्यो। दुर्भाग्यवश पार्टीमा बैठकहरू नियमित नहुँदा सामूहिक छलफलको बाटो बनेन। त्यसले उपयुक्त लागेको कुरा पनि भन्ने ठाउँ भएन। केन्द्रीय समितिका सदस्यलाई जिल्ला इन्चार्ज बनाएर एकताको जिम्मेवारी दिएको भए यतिबेला ९० प्रतिशत जिल्लामा कमिटी बन्थ्यो। तर हामीले कार्यदल बनायौं। उसलाई सिफारिसको मात्र अधिकार दियौं। निर्णयको अधिकार दिएनौं। यो तपाईंहरूको काम हो टुङ्ग्याउनुस्, नटुङ्गिएमात्र केन्द्र ल्याउनुस् भनेको भए एकता भैसक्थ्यो। त्यो पनि भएन। हामीले एकताको मोडालिटी र मापदण्ड बनाएनौं। जसका कारण हरेक प्रदेश कमिटी र जिल्लामा बनेका कार्यदलले आफ्नो अनुकुलतामा मानिस छान्ने काम अगाडि बढ्यो। त्यसले असन्तुष्टि जन्मायो। किनभने जिल्ला कमिटीका अध्यक्ष कायम छन् तर उसलाई हटाएर सदस्यलाई अध्यक्ष सिफारिस गरिएको छ। किन हटाइयो वा हट्नुपर्‍यो भन्ने आधार दिइएन। एक किसिमले भन्ने हो भने बाटो स्पष्ट नभएकाले अहिलेको अलमल भएको हो।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *