प्रशान्त महासागरमा विमान खस्यो, सबै यात्रुको सकुशल उद्धार

न्यूजिल्यान्ड– प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्युगिनी (पिएनजी)को एउटा हवार्इजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवार्इ मैदानमा उत्रिन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा खसेको थियो ।

पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुंगाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीले बताएका छन् । विमानमा यात्रु र चालक दलका सदस्यसहित ४७ जना सवार थिए ।

पानीमा डुब्दै गरेको जहाजभित्र पानी पस्न थालेपछि विमानका कर्मचारी र यात्रु आपतकालीन ढोकाबाट बाहिर निस्केको साेही विमानमा यात्रारत एकजना यात्रुले बताए । स्थानीय डुंगा चालकले विमानमा रहेका सबै ४७ जनाको उद्धारका लागि सहयोग गरेका थिए । यो विमानलाई माइक्रोनेसियाली द्वीपको चुक आइल्यान्ड (द्वीप)मा अवतरण गर्न लागिएको थियो ।

विमानका एक यात्रु बिल जेनेसले एयर न्युजिनी विमान धेरै तलबाट उडेको बताए । ‘मैले विमान यति तलबाट उडेकामा आश्चर्य मान्दै थिएँ । पानीमा झर्नासाथ विमानको माथिल्लो भागबाट पानी भित्र पस्न थालेको थियो ।’

जेनेसले डुब्दै गरेको बिमानको आपतकालीन ढोकाबाट बाहिर निस्केर पानीमा हाम फालेको बताए । आफूलाई सामान्य चोट लागेको बताउँदै जेनेसले बिमानमा सवार पत्नी पनि चिच्याइरहेको जानकारी दिए ।

यो दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन । विमान कम्पनीले हवार्इजहाज विमानस्थलमा उत्रिनुअघि नै विमान पानीमा झरेको जानकारी दिएको छ । जेनेसले धावनमार्गमा छोएर पानीमा झरेको बताए । उक्त हवार्इजहाज ३० मिटरजति पानीमा डुबेको थियो । विमान डुब्नुअघि सबै मानिसलाई उद्धार गरिएको थियो ।

सन् २००९ मा अमेरिकाको न्युयोर्कमा पनि एउटा विमान हड्सन नदीमा खसेको थियो, तर विमानका यात्रुलाई हवार्इजहाज डुब्नुअघि नै उद्धार गरिएको थियो । यो घटनालाई ‘हड्सनको चमत्कार’ पनि भनिन्छ ।

विमान कम्पनीका अनुसार बोइङ ७३७ विमानमा ३५ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए । कम्पनीले विमान अवतरण गर्नेक्रममा मौसम राम्रो नभएको, ठूलो पानी परेको र दृश्यता (भिजिबिलिटी) कम रहेको जनाएको छ ।

एयर न्युगिनी पपुआ न्युगिनीको राष्ट्रिय ध्वजावाहक विमान हो । यो कम्पनीले हालैका दिनहरूमा मनिला, सिड्नी र सिंगापुरमा पनि उडान गरिरहेको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *