‘कार्यवाहक अध्यक्ष’बामदेवले नेपाललाई भनेपछि

काठमाडौं यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा छन् । दुबै अध्यक्ष नभएका बेला पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार काठमाडौंमा दसै, दिपावली, छठ लगायतका पर्वको अवसरमा पार्टीका स्थायी समिति सदस्यहरुलाई बोलाएर चियापान गराए ।चियाको चुस्कीसँगै नेता वामदेव गौतमले कार्यवाहक अध्यक्ष नेपालको निमन्त्रणामा आफू चियापान कार्यक्रममा सहभागि भएको स्पष्ट पारे । तर उनको यही अभिब्यक्ति सुनेर उपस्थित नेता तथा कार्यकर्ताहरु छक्क परे । दुबै अध्यक्षले कसैलाई पनि कार्यवाहक अध्यक्ष भने दिएका थिएनन् । दुबै अध्यक्ष देशमा नभएको बेला पार्टीको कार्यवाहक अध्यक्ष स्वतः वरिष्ठ नेता नेपाल हुने गौतमले स्पष्ट गरेका छन् ।‘पार्टीका दुबै अध्यक्ष कामरेड नभएका बेला केही पर्यो भने नेतृत्व गर्ने पार्टीको नेता तपाई नै हो, तपाईले बोलाएको हुनाले म यहाँ आए’ गौतमले भने, ‘अरुले बोलाएको भए म आउँने थिइन् । तपाईले बोलाएर ठिकै गर्नुभयो ।’ बामदेवको अभिव्यक्ति भेलामा उपस्थित एक स्थायी समिति सदस्यले जानकारी गराए ।

यतिबेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनका लागि अमेरिकामा छन् भने अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा छन् । यो समयमा वरिष्ठ नेता नेपालले स्थायी समितिका सदस्यहरुको भेला गर्नुलाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिनु अस्वभाविक भने होइन ।

चियापान कार्यक्रममा सचिवालयको निर्णय प्रकृयामा असन्तुष्टि राख्दै आएका अर्का नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई सशक्त र एकजुट बनाउने हो भने कमिटीगत प्रणालीमा गएर निर्णय गर्नु पर्नेमा जोड दिए । उता, उर्जा, जलस्रोत र सिंचाईमन्त्री समेत रहेका नेता वर्षामान पुन समेत सचिवालयको निर्णयमा सन्तुष्ट भने छैनन् ।

मातहतका कमिटी एकताका लागि बनाइएका कार्यदलले प्रतिवेदन बुझाएपछि नेकपा भित्र ठूलो असन्तुष्टिका बढेको थियो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाउने क्रममा पार्टीका योग्य र इमान्दार कार्यकर्तालाई पाखा लगाएर मापदण्ड र मर्यादा मिचेको आरोप लागेपछि नेकपाभित्र भुसको आगो सल्किएको हो । समयमै समस्याको जड पत्ता नलगाउने हो भने भुसको आगोले नेकपालाई सिध्याउने पक्का छ ।

एक नेताका अनुसार दुबै अध्यक्ष देश बाहिर रहेको र लिखित रुपमा कार्यवाहक नतोकिएकाले कतिपय नेताले पार्टीको काम सचिवालयले हेर्ने बताउँदै आएका छन् । आफैले आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता नेपालले पार्टी सचिवालयले गरेको पछिल्लो निर्णय मान्य नहुने दावी गरे ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *