चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी चीन भ्रमणका सिलसिलामा शनिबार बेइजिङ प्रस्थान गरेका छन् ।

दक्षिण छिमेकी भारतको भ्रमणबाट फर्केको एक सातापछि प्रचण्ड उत्तर छिमेकी चीनको भ्रमणमा निस्केका हुन् । चीन उड्नुअघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग उनले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध विस्तार आफ्नो भ्रमणको प्रमुख एजेण्डा रहेको बताए ।

यस्तै विभिन्न मितिमा दुई देशबीच भएका सहमति तथा सहकार्यका विविध विषयमा चिनियाँ नेतृत्वलाई सम्झाउने र तिनीहरुको कार्यान्वयनको वातावरण बनाउने जानकारी उनले दिए ।

फरक एक प्रसङ्गमा प्रचण्डले नेकपाको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्ला कमिटीबीच एकताबारे छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने जनाए ।

‘म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पुर्याइन्छ’, उनले भने, ‘दशैँअगावै एकताका सबै विषयलाई निष्कर्षमा पुर्याइन्छ । कुनै द्विविधा रहँदैन ।’ भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनफिङ, प्रधानमन्त्री ली खछ्याङ तथा कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्ने कार्यक्रम छ ।