बलत्कार न्युनिकरणको विशेष योजना बनाउन आईजीपीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्न तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । बिहिबार नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई गृहमन्त्रालयमा बोलाएर गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् । निर्देशन दिने क्रममा गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणित कार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताए ।

बलत्कारका घटना न्युनिकरणका लागि देशव्यापी रुपमा अभिभावकदेखि बालबालिका सम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रालयको ठहर छ । गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीँकतै त्यस्तो भए उनिहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए । महिला हिंसा र बलत्कारका घटनाका उजुरीमा लापरवाही नगरी गम्भिरतापूवर्क कारवाही अघि बढाउन पनि मन्त्री थापाले निर्देशन दिए ।

गृहसचिव प्रेमकुमार राई समेत सहभागीे छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरको बालिका मृत्यु घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्नेगरी सबैपक्षले काम गर्नुपर्ने बताए ।

अभियान सुरु गर्दै गृह
अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलात्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यसबिरुद्ध गृहमन्त्रालयले अभियान सुरु गर्ने भएको छ ।

मन्त्रालयले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागू पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रिपरिषद्मा लैजानका लागि तयार पारेको छ । सो प्रस्ताव पारित भए लगत्तै भदौको मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ ।

इन्टरनेट मार्फत अश्लिलता बढेको कारण पनि बलत्कारका घटना बढेकोले  यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको जनाएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *