नेपाल युएइ सगँ पराजित।

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिताका दोश्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ । युएई र नेपालबीचको खेलले अन्तर्राष्ट्रिय एकदिवसिय खेलको मान्यता पनि पाएको छ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भइसकेकोले नेपालको एसिया कप पुग्ने सपना तुहिने खतरा बढेको छ ।

आजको खेलमा टस जितेर युएईलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएपनि नेपालले युएईलाई रोक्न सकेन । नेपालको कमजोर पेस बलिङको फाइदा उठाउँदै १२ ओभरमा बिना कुनै क्षति ७० रन बनाएको थियो । त्यसपछिको १ रनमा २ विकेट गुमाए पनि युएईले सम्हालिदै खेल्दै पुरै ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन जोड्न सफल भयो ।

युएईका लागि ओपनर चिराग सुरीले ९१ बलमा ६५ रन बनाए । त्यस्तै सातौं नम्बरमा ब्याटिङ गर्न आएका अदनान मुफ्तीले नटआउट रहँदै ४६ बलमा ५७ रन बनाए । यि बाहेक अस्फाक अहमद, रमिज शहजाद, मुहम्मद उस्मान, अहमद राजा र अब्दुल शकुरले क्रमशः ४५, ३५, १३, १२ र १० रन बनाए ।

नेपालका लागि सबैभन्दा सफल बलर सन्दीप लामिछाने भए । १० ओभर बलिङ गरेका लामिछानेले २४ रन दिंदै ४ विकेट लिए । उनको १० ओभरमा २ ओभर मेडन पनि थियो । बसन्त रेग्मीले पनि १० ओभरमा ४९ रन दिंदै २ विकेट लिए भने सोमपाल कामीले १० ओभरमा ५८ रन दिंदै २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नेपालले निर्धारित ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो । पहिलो ओभरमै ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले आजको खेलमा ठुलो लक्ष्य पछ्याउँदै जित हासिल गर्ने सम्भावनामा झट्का लागेको थियो ।

बिस्तारै सम्हालीन लागेको बेलामा कप्तान पारस खड्का नवौं ओभरको तेश्रो बलमा स्टम्पड आउट भएपछि नेपाल ठूलो समस्यामा परेको थियो । त्यसको केहि समयमै सागर पुनलाई गुमाएपछि नेपालको जीतको सम्भावना क्षीण भइसकेको थियो । चौथो विकेटको लागि दीपेन्द्र सिंह ऐरी र सुवास खकुरेलले ५८ रनको साझेदारी गर्दै केही आशा देखाए पनि रन रेटमा नेपाल धेरै पछि परिसकेको थियो ।

त्यसपछि नेपालले कुनै समयमा पनि खेल जित्ने अवस्था थिएन ।

नेपालको लागि सर्वाधिक रन सुवास खकुरेलले बनाए । ५० रन बनाएका उनले ९७ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यस बाहेक दिपेन्द्र सिंह ऐरीले ६४ बलमा ४० रन बनाए । त्यस्तै सोमपाल कामीले नटआउट २७, पारस खड्काले १६ र बसन्त रेग्मीले १२ रन बनाए । बलिङतर्फ युएईका अहमद राजाले १० ओभरमा ४ विकेट लिए । त्यस्तै मोहम्मद नाभेदले ३, अमिर हायातले २ र अस्फाक अहमदले १ विकेट   लिए ।

आजै भएको अर्को खेलमा हङकङले सिंगापुरलाई ५ विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको सिंगापुरले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १५० रन बनाएको थियो । जवाफमा हङकङले ३४.२ ओभरमा ५ विकेट गुमाउँदै १५४ रन बनाउँदै खेल जितेको थियो ।

त्यस्तै ओमान र मलेसियाको रोमाञ्चक खेलमा ओमान विजयी भएको छ । मलेसियाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । जवाफमा ओमानले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै गुमाउँदै १९९ रन बनाइ २ विकेटको विजय हात पार्न सफल भयो ।
नेपालले अब तेश्रो खेलमा मलेसियाको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार शनिबार अर्थात् पर्सी बिहान ७ः१५ मा सुरु हुनेछ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *