भारतले जुन चाहेको थियो, त्यही गर्न पुगिएछ’

कपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेपालमा गणतन्त्र स्थापनाको निम्ति पछिल्लो चरणमा आफूहरूले भारतले चाहेअनुसारै काम गर्न पुगेको बताएका छन्।

‘पार्टीको तत्कालीन नेतृत्व (प्रचण्ड र बाबुराम भट्टराई) ले भारतसमक्ष आत्मसमर्पण गरेको र त्यसैअनुसार सात दल र माओवादीबीच १२ बुँदे सहमति भएको’ उनको आरोप छ।

सहमति हुँदा उनी र मोहन वैद्य भारतको जेलमा थिए। उक्त सहमतिपछि जनआन्दोलन चर्केको थियो।

कठैबरा

तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘भारतलाई चिढ्याउने गरी चीनलाई सार्कमा भित्र्याउने र पाकिस्तानसँग सम्बन्ध बढाउने अनि भारतले भनेको कुरा जस्ताको त्यस्तै नमानेको’ उनको बुझाइ छ।

‘त्यति हुँदा पनि राजालाई साइजमा ल्याउने भारतको भित्री उद्देश्य रहेको हुनसक्ने’ बताउँदै तत्कालीन माओवादीका विदेश विभाग प्रमुख रहेका गजुरेलले आन्दोलन बढ्दै जाँदा उसले राजतन्त्रलाई ‘कठैबरा भन्न नचाहेको’ विश्लेषण सुनाए।

उनले भने, “त्यसकारण नीतिगत रूपमा भारतले पहिले गणतन्त्र ल्याउन खोजेर हामी पछि लागेको होइन।”

फेरि सङ्घर्ष

त्यसको अर्थ अहिले आफूहरू माध्यम बनेको अनुभूति भएको हो त?

नेता गजुरेल भन्छन्, “जेलमा भएकाले पार्टी नेतृत्वको गतिविधि थाहा भएन। अहिले मूल्याङ्कन गर्दा भारतले जुन चाहेको थियो त्यही गर्न पुगियो।”

राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापनापछि त्यसलाई आत्मसात् गर्ने शक्तिसँग फेरि सङ्घर्ष हुने र त्यसपछि आफूहरू जनगणतन्त्रमा जाने पार्टीको निर्णय रहेको उनको भनाइ छ।

तर त्यसबाट पछि हटेर नेतृत्वले आत्मसमर्पन गरेको नेता गजुरेलले बताए।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *