चितुवाको छाला बोकेका वनअध्यक्षसहित चार जना पक्राउ

दोलखा, ६ भदौ । चितुवाको छाला बोकेर हिँडेको सामुदायिक वनका अध्यक्षसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ ।

मंगलबार साँझ वैत्यश्वर गाउँपालिका वडा नम्बर ४ काव्रे, मैनापोखरीस्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नजिकैबाट प्रहरीले ३४ वर्षीय प्रदीप गजमेरलाई पक्राउ गरेको थियो ।

गजमेरको साथबाट चितुवाको छालासमेत बरामद भएको थियो । गजमेर पक्राउ परेपश्चात त्यही घटनामा संलग्न थप ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिरी नगरपालिका वडा नम्बर ९ बस्ने ३५ को वेदबहादुर सुनुवार, ४८ को नारद सुनुवार तथा अर्का मूख्य अभियुक्त जसको नाम खुलाइएको छैन, तीन जनाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । पक्राउ परेका नारद सुनुवार भुसुने सुँगुरे सामुदायिक वन उपभोक्ता समूहका वर्तमान अध्यक्ष हुन् । झण्डै ४ महिना अघि नै उक्त चितुवालाई पासो थापी मारिएको थियो ।

५ फिट ९ इन्च लम्बाइ र २ फिट ६ इन्च चौडाइ भएको चितुवाको छाला र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइने प्रहरीले जनाएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *