एनआरएनए छैटौं मध्यपुर्व भेलामा मन्त्री बिना मगर आउने, खाडीमा कार्यरत महिलाहरु उत्साहित

 

५ भदौ, युएई । एनआरएनए युएईले आगामी अगस्ट २३ देखि २५ सम्म आयोजना गरेको छैठौ मध्यपुर्ब भेलाको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । भेलाको प्रमुख अतिथि नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री बिना मगर आउने निश्चित भएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् । साथै श्रमका उपसचिव विपिन आचार्य र पुर्व श्रममन्त्री रमेश लेखक पनि विशेष अतिथिका रूपमा भेलामा सहभागी हुने एनआरएनए युएईले जनाएको छ ।

त्यसैगरी एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र यादव, सचिवालयबाट हेमन्तकुमार दवाडी, कानुनी सल्लाहकार स्वेचछा घिमिरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिपकुमार थापा पनि भेलामा अतिथिका रूपमा सहभागी हुनेभएका छन् । हरेक दुईदुई वर्षमा आयोजना हुने यो भेलाको सफलताको लागि आइसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष, महासचिव लगायत एनआरएनका अधिक आईसीसी सदस्यहरु साथै फ्रान्स, इटली, अस्ट्रेलिया, हङकङ लगायत विस्वका विभिन्न देशहरूमा रहेका एनआरएनएका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । तर यो भेलामा श्रममन्त्री गोकर्ण विस्टलाई ल्याउने प्रयास असफल भएकोमा अध्यक्ष श्रेष्ठले नेपाल सरकार मध्यपुर्वका समस्याहरुप्रति उदासीन रहेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । युएई लगायत मध्य्पुर्वका नेपाली श्रमिकहरुका समस्या समाधानका लागि नेपाल सरकारको तर्फबाट कुनै तयारी नभएको र हाउसमेडको श्रम स्वीकृति, विभिन्न देशहरूसँग नेपाल सरकारले श्रम सम्झौताका लागि होमवर्क नगरेका कारण एनआरएनएको भेलालाई बेवास्ता गरेको श्रेष्ठको आरोप छ ।

यो भेलाले मध्यपुर्वमा रहेका नेपाली श्रमिकहरुका मुलभुत समस्याहरु पहिचान गर्दै समाधानका लागि नेपाल सरकारलाई दबाब सिर्जना गर्ने लक्ष्य लिएको एनआरएनएका मध्यपुर्व उपसंयाेजक गाेपाल कंडेलले जानकारी दिएका छन् । उनका अनुसार यो भेलाले घरेलु कामदारको रोकिएको श्रम खुलाउन सामुहिक दवाब दिनेछ । त्यसैगरी सस्तो लोकप्रियताको फ्री भिसा फ्री टिकटबारे प्रष्ट धारणा सहित युएई घोषणा पत्र जारी हुनेछ । घोषणापत्रमा वैदेशिक रोजगार प्रबर्धन बोर्डमा रहेको रकम, जनचेतनाको अभावले पारेको प्रभाव, भिजिट भिसा प्रकरण, दूतावासले प्रमाणीकरण गर्ने डिमान्ड, भोटिङ राइट र यूएईमा कन्सुलर सेवा स्थापना लगायतका बुदामा गम्भीर छलफल सहित समस्या समाधानका लागि आवाज बुलन्द पारिनेछ ।

दुबईको ग्रांड एक्सेलसिअर होटलमा हुन गइरहेको उक्त कार्यक्रममा उपस्थितिका लागि युएई स्थित नेपाली दूतावासलाई निमन्त्रणा गरिएको साथै युएईका सक्रिय नेपाली संघ-संस्थाहरूलाई पत्राचार गरिसकिएको एनआरएनए युएईका महासचिव कृष्ण पौडेलले अनलाइनखबरलाई बताएका छन् । यो भेलामा एनआरएनएका पंजीकृत सदस्यहरू मात्र उपस्थित रहने व्यवस्था भएता पनि एनआरएनएप्रति सकारात्मक/ईच्छुक संघ-संस्थाका सदस्यहरूलाई सहभागी गराइने बताइएको छ । स्मरण रहोस् करिब तीन लाख नेपाली रहेको युएईमा एनआरएनएको सदस्यता लिएकाको संख्या करिब २५ सय मात्रै छ ।

मध्यपुर्बका १२ देशका एनआरएनए सामाजिक अभियन्ताको उपस्थित रहने तथा एनआरएनए आइसीसीबाट पनि उल्लेख्य सहभागीता रहने यो भेला युएईमा गर्न पाउनु आफ्नो राम्रो अवसर भएको भन्दै एनआरएनए युएईले यसलाई शान्त, सभ्य र भब्य रुपमा कार्यक्रम सफल सम्पन्न गराउन युएईका नेपालीहरुलाई आग्रह गरेको छ । कार्यक्रम सहभागी सबैलाई स्मारिका एवं किट्स नि:शुल्क उपलब्ध गराउने एनआरएनए युएईको तयारी छ । एनआरएनए अभियानबारे युएईबाट चासो राख्ने नेपाल पत्रकार महासंघ युएई शाखाका सचिव मेघराज सापकोटाको सम्पादकत्वमा १ सय पृष्ठको स्मारिका तयार भएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *