रातारात पुरिँदैछ काठमाडौंका सडकको खाल्डाखुल्डी

Spread the love

२० साउन, काठमाडौं । शनिबार दिउँसो झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त थिए । उनीहरु साना ठूलो खाल्डाखुल्टी एकएक पुरिहेका थिए । झरिका बीचमा पनि काम गरेको देख्नेहरुलाई लाग्यो, ढिलै भएपनि सरकारले जनतालाई परेको पीर मर्का बुझ्न थालेछ ।’

नयाँ बानेश्वरमा मात्र होइन, आजभोलि मूल सडकहरुमा जतातातै काम भइरहेको छ । नगरुन पनि किन ? भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ आफैं बेला-बेलामा सडक अनुगमनमा निस्कने गरेका छन् र जुन सुकै हालतमा होस्, भदौ १२ गतेसम्म सबै सडकको खाल्डा पुर्नु परेर निर्देशन दिएका छन् ।

मध्य वर्षामै सडकका खाल्डाखुल्डी पुर्न थालिएछ नि भन्ने प्रश्नमा सडक विभागका एक अधिकारीले भने, ‘विदेशी राष्ट्र तथा सरकार प्रमुखहरु आउँदैछन् भन्ने थाहा छैन ?’

हो, भदौ १४ र १५ मा काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -विमिस्टेक) को शिखर सम्मेलन काठमाडौंमा हुँदैछ । सम्मेलनका लागि भारतका साथै बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्र तथा सरकार प्रमुखहरु काठमाडौं आउनेछन् ।

त्यही सम्मेलनका लागि धमाधम चत्रपथभित्रका सडकहरु मर्तमसम्भारको काम भइरहेको छ । मन्त्री महासेठले दिन-दिनै कामको प्रगति विवरण लिने गरेका छन् ।

सडक विभागलाई भने मध्य बर्षामा कसरी सडकलाई सुन्दर र आकर्षक बनाउने भन्ने तनाव छ । एरपोर्टबाट तीनकुने, बानेश्वर-थापाथली-टेकु हुँदै सोल्टी मोडसम्म जाने सडकलाई सबैभन्दा प्राथमिकता राखेर मर्मत तथा सुधारको काम भइरहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिबाट तीनकुनेसम्म सडकको दायाँबायाँ फूलबारी निर्माण गरिँदैछ । यसमा नेपाल टेलिकमलाई सहभागी गराइँदैछ ।

यस्तै त्रिपरेश्वर-महाराजगञ्ज, सिनामंगल-रत्नपार्क, रत्पपार्क आसपास, रिंगरोड, ललितपुर पाटन दरबार क्षेत्र र भक्तपुर जाने सडकमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । पानीमै प्रयोग गर्नै सकिने बिटुमिन (अलकत्रा) प्रयोग गरेर खाल्डा-खुल्डी ‘प्याचअप’ गर्ने काम भइहरेको दावी विभागका अधिकारीहरुको छ ।

मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्ने र सडकमा सडक संकेतको व्यवस्थासमेत गरिँदैछ ।

ढल निकास विभागलाई पानीका कारण समस्या भएका क्षेत्रको पहिचान गरी आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ । पानी जम्न नदिने तथा धुलो नउड्ने अवस्था सिर्जना गर्न निर्देशन दिइएको छ ।

ऊर्जा मन्त्रालयले सडक निर्माणमा अवरोध गरेका पोलहरु सात दिनभित्रै हटाएर नयाँ पोल गाड्दैछ । यसरी मुख्य सडकमा ‘जादुयी’ तवरले काम गर्ने योजना छ ।

हुन त विदेशी पाहुना आउँदा सडकलाई चिरिच्याट्ट पार्ने प्रचलन नेपालमा नौलो होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा चाबहिलबाट हायत होटल अगाडिसम्म कालोपत्र रहेको सरकारले त्यसअघि र पछि सडकको दुरावस्था देखेन । अहिले पनि ठूलो पानी पर्नासाथ त्यो बाटो हिँडिनसक्नु हुन्छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *