असुरराज ययाति : यी पौराणिक पात्रबाट धेरै कुरा सिक्न सकिन्छ

ययातिबाटै एसियाली जातिको जन्म भयो । यिनैबाट चन्द्रवंश अघि बढ्यो । पुराणका अनुसार ययाति प्रजापति ब्रहृमाका वंशमा जन्मिएका हुन् ।

ययातिका २ जना प्रमुख पत्नी थिए, देवयानी र शर्मिष्ठा । देवयानी असुर गुरु शुक्राचार्यकी पुत्री थिइन् भने शर्मिष्ठा दैत्यराज वृषपर्वाकी पुत्री । देवयानीबाट यदु र तुर्वसु नामका २ छोरा भए भने शर्मिष्ठबाट अनु, द्रुह्यु र पुरु गरी तीन सन्तान भए । अप्सरा विश्वाचीका तर्फबाट माधवी नामकी छोरी भइन् । अत्यन्त सुन्दरी माधवीको व्यथापूर्ण जीवन महाभारत तथा पुराणदिमा चर्चित प्रसंगका रुपमा आएको छ । यीबाहेक पनि ययातिका थुप्रै छोराछोरी थिए भन्ने संकेत पाइन्छ ।

ययातिको कथा

चक्रवर्ती सम्राट ययातिलाई उनका ससुरा दैत्य गुरु शुक्राचार्यले वृद्ध हुने श्राप दिएका थिए । उनको श्रापका कारण उनी तुरुन्तै वृद्ध भएर मृत्युको मुखमा पुगे । ययातिको यस्तो कहानीको वर्णन सबैतिर फरक फरक तरिकाले वर्णन भएको पाइन्छ तर कहानीको मूल एउटै छ ।

सम्राट ययाति संसारप्रति आसक्त व्यक्ति थिए । १०० वर्ष बाँचिसकेपछि पनि उनको भोगलिप्सा शान्त भएन । भनिन्छ उनका १०० जना रानी थिए । विषयवासना अर्थात् कामभोगबाट तृप्ति नमिलेपछि उनलाई बूढ्यौलीप्रति घृणा भयो र उनको मनमा फेरि जवान हुने अभिलाषा जागृत भयो । जब आफ्नो मृत्युको समय आयो तब उनी डरले काम्न थाले । उनी सार्‍है डराए र यमराजसँग केही समय थप बाँच्न चाहेको कुरा याचना गर्न थाले । यमराज पनि उनलाई म्याद दिएर गए । यसप्रकार पछि पनि यमराज दुईतीन पटक फेरि आए । हरेक पटक ययातिको माग मानेर फर्किएका यमराज चौथो पटक टसका मस भएनन्, ययातिलाई नलिई नजाने कुरामा उनी दृढ रहे ।

यमराजका अगाडि ययाति गिडगिडाउन थाले । उनले भने, अझै यो संसारमा मेरो धेरै काम बाँकी छन् । म अझैसम्म अतृप्त र भोको छु । मलाई अझै थप म्याद दिनुहोस् । यसरी मलाई अचानक नलैजानुहोस् । अहिलेसम्म त मैले केही भोग गरेकै छैन ।

भनाइ नै छ

धनेषु जीवितव्येषु स्त्रीषु चाहारकर्मषु ।

अतृप्ता प्राणिनः सर्वे याता यास्यन्ति यान्ति चः ।।

अर्थात् आजसम्म धनले, आयुले, कामभोगले र आहारले नअघाइकनै गए, जाँदै छन् अनि पछि पनि जानेछन् । यही भनाइ ययातिमा पनि लागू भएको थियो । यो ययाति मात्र नभई हरेक मानिसको चाहना हो । यस हिसाबले ययाति सांसारिक भोगलिप्साप्रति हुरुक्क हुने मानव जातिका प्रतीक पनि हुन् ।

यसपछि के भयो ?

यमराजले भने, हे ययाति, तपाईको उमेर पहिल्यै पूरा भइसकेको छ, तपाईले धेरै नै नाफाको जीवन बाँचिसक्नुभएको छ, अब त तपाईंलाई नलिई म जानै मिल्दैन । यसराजको यस्तो कुरा सुनेर ययाति गिडगिडाउन थाले । अति गरेपछि यमराजले भने-र् ल ठीक छ, तर मेरो एउटा शर्त छ । यो शर्तमा तपाईंलाई म अन्तिम पटक छोड्दै छु । तपाईं आफ्ना कुनै छोरासँग उसको आयु मागेर बाँच्न सक्नुहुन्छ ।’

अब ययाति आफ्ना छोराहरुका अगाडि गिडÞगिडाउन थाले । उनका जुन छोराहरु ६०, ७० वा ७५ वर्षका थिए, उनीहरु सबै त्यसो गर्न इन्कार गरेर हिँडे । अनि जब यदु, तुर्वसु र द्रुह्युले पनि इन्कार गरिसकेपछि उनले सबैभन्दा कम उमेरका छोरा पुरुसँग आग्रह गरे ।

पुरुले भने, पिताश्री ! म आफ्ना उमेर खुसीसाथ तपाईलाई दिन तयार छु । जब तपाईंको मन १०० साल भोग गर्दा पनि अघाएन भने मेरो पनि त के भरिएला र ? तपाईं मलाई आशीर्वाद दिनुहोस् । यसरी पुरुले आफ्ना  पिता ययातिलाई जवानी दिएर आफूले वार्धक्य लिए ।  यसबाट ययाति निकै प्रसन्न भए र भने कि तिमी नै मेरा असली छोरा हौ र यो राज्यको उत्तराधिकारी पनि तिमी नै हौ । अरु त सबै स्वार्थी हुन् । तिमीलाई ठूलो पुण्यलाभ हुनेछ । तिमीले आफ्ना  बाबुलाई बचायौ त्यसकारण तिमीलाई स्वर्ग प्राप्त हुनेछ ।

१०० वर्षपछि फेरि मृत्यु आइहाल्यो । यसपटक पनि ययाति यमराजसामु गिडगिडाउन थाले र भने अहिलेसम्म त मेरो काम अलिकति पनि पूरा भएको छैन । यो १०० वर्ष कसरी बित्यो भन्ने नै मैले चाल पाइन । पलभरमै बितेर गएछ । के १०० वर्ष बितिसकेको हो र ? त्यतिबेलासम्म ययातिका १०० जना अरु छोरा जन्मिसकेका थिए । थुप्रै नयाँ नयाँ विवाह गरेका थिए । यसपटक पनि यमराजले भने, फेरि अर्को छोरासँग आयु साट ।

यो शृंखला चलि नै रह्यो । भनिन्छ, यो प्रक्रिया १० पटकसम्म चल्यो । यसो गर्दागर्दै ययाति हजार वर्षका बूढा भए । अनि फेरि यमराज आएर सोधे, राजन ! अब के विचार छ त ?

ययाति हाँस्न लागे । उनले भने, अब म तपाईंसँग जान तयार छु । अहिले पनि मेरो भोग गर्ने इच्छा पूरा भएर जान लागेको भने होइन, इच्छा जस्ताको तस्तै नै छ । तर, एउटा कुरा के प्रस्ट भयो भयो भने कुनै पनि इच्छा कहिल्यै पनि पूरा हुन सक्दो रहेनछ । अब मलाई लिएर जाऊ । मलाई संसारमा बस्नै पनि दिक्क लागिसक्यो । यद्यपि यो भिक्षापात्र भरिने रहहेनछ । इच्छारुपी भिक्षापात्रमा पिँध हुँदो रहेनछ । यसमा जे जति हाले पनि, सदैव खालीका खाली नै रहने रहेछ !

ओशो भन्छन्- जीवेषणा शरीरसँग बाँधिए, इच्छाहरुसँग बाँधिए अनि मनसँग बाँधिए त्यो संसार । अनि जीवेषणा यी सबैबाट मुक्त भए- न संसार, न शरीर, न मन । यसपछि जीवेषणा नै रहँदैन । जीवन मात्र बाँकी रहन्छ । शुद्ध जीवन । पवित्र जीवन । शुद्ध कुन्दन । त्यही निर्वाण हो, त्यही मोक्ष ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *