इटालियन युवतीकाे आँसु र मेरो मेलम्ची

Spread the love

मेलम्ची खानेपानी आयोजना बन्ने भयो।
आयोजना शुरु गर्ने प्रकृया, औपचारिकता,अन्तर समन्वय, स्वीकृति, अनुमोदन, नविकरणका कामहरुसँगहैरानी बेहोरेकी १ जना इटालियन युवतीले दुःखेसो पोखिन्। उनको गुनासो सुनाउन लाज हुन्छ। सुन्नेलाई बिरक्ति।

पंक्तिकार राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालयको कारिन्दा उपनिर्देशक थिए। ‘नेपाल सरकारको काममा ढिलासुस्ती, आलटाल, भ्रष्टाचार, उपेक्षा, दुःख दिने नियत छैन’ भनेर उनलाई ३/४ वटा कार्यालय घुमाएर उनको बाधा अड्काउ फुकाइदिन पाएँ। सुरुङ खन्ने काम राष्ट्रिय निकुञ्जबाट शुरु हुने भएकोले राष्ट्रिय निकुञ्ज बिभागको आग्रहमा नेपाली सेनाको स्वीकृतिको लागि उनी मसँग ठोक्किन आइपुगेकी थिइन्।

राष्ट्रिय गौरवको आयोजना निर्धारित समयमा सकियोस् र गुणस्तरीय निर्माण होस् भन्ने शुभकामना दिएर पठाउंदा उनले आँखाबाट आँशु झारिन् । महिनौं सास्ती बेहोरेर हैरान भएकी उनको काम २ घण्टामा समाप्त भएको गुण र खुशीको आँशु थियो त्यो।

उनले गुण तिर्न पंक्तिकारलाई मेलम्ची पुर्याइन्। सुरुङको मुख चिनो लगाएको देखाइन्। पंक्तिकारले मनमनै धर्तीमातासँग माफी मागें। अनि लाङटाङ राष्ट्रिय निकुञ्जसँग माफी माग्दै आश्वस्त पारें–‘तिमी धर्ती माता र निकुञ्जको राजधानीका ५० लाख मानिसलाई स्वच्छ सफा पानी पिलाएर गुण र धर्म लगाउदै छौं। तसर्थ, सानो चोट र दर्द सहेर भएपनि त्यो परोपकार गरिदेऊ।’

सुरुङ खन्ने काम शुरु भयो। दोश्रो पटक स्वयंसेवी भई कामको प्रगति र निकुञ्ज तथा बातावरणीय प्रभाव हेर्न भनेर पुगें। निकुञ्ज कामिरहेको थियो। कोमल सुन्दर पर्वत रोइरहेको थियो। पंक्षीहरु अन्धा बैरा भएर बसाइसराइ गरिसकेका थिए। माछाका कानका जाली फुटेर मरणासन्न छटपटाइरहेका थिए। जैविक बिविधता समूल कन्तबिजोकका साथ नष्ट हुने नै भए । पंक्तिकारलाई ३ वटा सोच पलायो–

पहिलो, यो सारा बिनासको पाप अरु कसैलाई होइन, आफू एक्लैलाई मात्र लागोस्।

दोश्रो, नेपालको कोमल कलिलो सुन्दर ५० लाख वर्षको उच्च हिमाली तथा पहाडी पर्वत होस् अथवा १० लाख बर्षको झन् कलिलो भर्खरको कच्चा चुरे पहाड् होस, त्यहाँ सुरुङ र बाटोघाटोको नाममा बिष्फोटन गराउन र ठूलो भद्धा गह्रौ मेशिन उपकरण प्रयोग गर्न नहुने रहेछ।

तेश्रो, काठमाण्डौ उपत्यका वरिपरिका जलाधारको स्वच्छ पानी संचय संभार र सदुपयोग गर्दा राजधानीको माग आपूर्ति हुने थियो। अझ, राजधानीलाई वातावरणीय अनुकुलता, हराभरा, स्वच्छता र सौन्दर्यता, जलाधार बृद्धि र संरक्षणको लागि नगरकोट, फूलचोकी, चन्दागिरि जंगलसम्म शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज बिस्तारको काम गर्न पाए पानी फ्याँकाफ्याँक हुने थियो। यी भावनासंगै परियोजनालाई सुझाएँ–

‘शिघ्र काम, गुणस्तरीय काम र उद्धार प्रयोजनको लागि हामी नेपाली सेनाको विज्ञ प्रविधिक खटाई दिन सक्छौंं। त्यो हाम्रोतर्फबाट निःशुल्क सेवाको योगदान हुनेछ।’
परियोजना संचालक इटालियनहरु खुशीले उफ्रे। नेपाली सरकारी पदाधिकारीहरु र पेटी खुद्रा ठेकेदारहरु‘आवश्यक छैन धन्यबाद’ भनेर तर्किए, बाङ्गिए। यद्यपि, इटालियनहरुलाई नैतिक साहस र हिम्मत दिनलाई पंक्तिकारले निकुञ्ज पोष्ट र मेलम्चीस्थित गुल्मलाई ‘मागेको आवश्यक सुरक्षा र उद्धार सहयोग अबिलम्ब प्रदान गर्नु’ भनेर निर्देशन दिएर काठमाण्डौ फिर्ता आएँ।

२०४६ को परिपर्तन सँगै ठूलो सपना र उत्साह बोकेर शुरु भएको मेलम्ची राजनीतिक शिकार हुँदा हुँदा गर्भदेखि बगेको मेलम्चीको आंसु अहिले सकिएको छ। आँसुु बग्ने ठाउँमा रगत आउन मात्र बाँकी छ। मेलम्चीलाई कथित् बोर्ड, बोर्डका आसेपासे संजालले कमसल र खोक्रो बनाएका छन्।

सुरुङ निर्माणको काम अगाडि बढ्यो। इटालियन कम्पनीको रुवाबासी बढ्दै गयो। गौरवको आयोजनामाथि लुटपात् शुरु भयो। इटालियन युवतीले बाध्य भएर सुनाइन्–‘यो सुरुङ मार्गबाट पानी त कुन्नी हाम्रो आँसु बग्ने छ पहिले। त्यो आँसुले कसरी प्यास मेटाउला र बरु पोल्ने छ धेरैलाई।’

पंक्तिकारले मेलम्चीको बेथिति, ठगी, लुटपात्, चन्दा आतंक सुन्न जान्न छाडिदिएँ। सांच्चिकै इटालियन कम्पनी समयमा भुक्तानी नपाएर आँसुमा डुबेर मर्यो। राज्यले आँसु र पाइला पाइलामा कमिसन डाँडेर खोक्रो ज्यानलाई २०७५ पुषमा देश निकाला गर्यो। उनै युवतीले रुदै बाईबाई गरिन्–
‘सतीले सरापेको देश’

पंक्तिकारले जवाफ फर्काएँ–
‘सबैले आशिष दिएको सुन्दरशान्त बिशाल देश। पद्धति, शासक, प्रशासन सुधारउन्मुख देश।
सुरुङ भित्रबाट देख्न नसकेको देश।

सौन्दर्यता हेरेर पागल हुने सुन्दर देश। कृपया फेरि आउनु यहाँको सक्कली सौन्दर्यता हेर्न।
सधन्यबाद शुभकामना र शुभयात्रा’

मेलम्चीको यो विजोग देख्दा र भोग्दा कहिले काहीं राजा भएको भए के हुन्थ्यो होला भनेजस्तो पनि लाग्छ अचेल। राजा अंगरक्षक समेत नलिई सुन्दरीजल पानी ट्यांकी निरीक्षण गर्न पुग्दथे। कहिले आरएनएसी, कहिले बिमानस्थल, कहिले दूरसंचार कहिले विद्युत प्राधिकरण ।राजा भएको भए मेलम्ची ७ पट पुगिसक्ने थिए होलान्। राजा चुपचाप् भद्रसंग सबै निरीक्षण गरेर दरबार फिर्ता हुन्थे होला।

निजी सचिवालयमार्फत सुधार गर्नुपर्ने बुँदाहरु चेन अफ् कमाण्ड हुँदै सम्बन्धित ठाउँमा पुग्दथ्यो। श्रोत–साधन बजेट नपुग भए तुरुन्त थपिन्थ्यो। राजाको यो हिम्मतमा राजनेताको राष्ट्रियहित, बिकासको चिन्ता र पीडा झल्किन्थ्यो।

राजा वीरेन्द्र आफैं हेलिकोप्टर लिएर दूरदराजका जिल्ला छड्के चेक गरेर फर्केका घटनाले सबैलाई अनुशासन, नैतिकता र जवाफदेहिता प्रदर्शन गर्न बाध्य पारेको थियो। हरेक योजनाको प्रगति बिवरण, गुणस्तर, पारदर्शिता राजालाई चाहिन्थ्यो।

वर्तमान हजारौं राजा, हजारौं सलामी मञ्च, हजारौं रातो कार्पेट, हजारौं सुरक्षाकर्मी, हजारौं सवारी साधन अगुवा पछुवा मोटर र औपचारिक तामझामको सवारी वर्तमान शासकहरुको प्यारो चरित्र भएको छ। केन्द्रदेखि प्रदेश हुदै स्थानीय तहसम्म सलामी नशा, चाहना र रवाफ बढेको बढ्यै छ। राष्ट्राध्यक्षलाई ईश्वरभन्दा माथि राखेर पत्र पत्रको सुरक्षा घेराले भजन किर्तन गरिएको छ। सरकार प्रमुखलाई झन् धेरै पत्रपत्रको सुरक्षा घेरा छन्।

कति सरकार बाहिरका उच्च नेतृत्वको सुरक्षा पत्रमा सयौं सुरक्षाकर्मी गुटुमुटु छन् र १/२ पत्र आफ्ना भित्रिया मान्छेको छुट्टै सुरक्षा दस्ता समेत छन्। छड्के निरीक्षण, कामको प्रगति र राष्ट्रियहित र विकासको चिन्ता परै जावस् ठेकेदारहरुको कुण्डलिनी र सम्पत्ति विवरणको दुरुस्त अभिलेख राखेर निर्माण भाँडैमा जावस्, खातामा धेरै रकम जम्मा गर्न लगाउने प्रवृत्ति सबैलाई जगजाहेर नै छ। कतिपय ठेकेदारकै घरमा पालिएका छन्, सबैले बुझेका छन्। अनि कसरी? किन?कसको लागि निर्धारित समयभित्र गुणस्तरीय काम हुन सक्दछ?

मेलम्चीमा आँसु
२०४६ को परिपर्तन सँगै ठूलो सपना र उत्साह बोकेर शुरु भएको मेलम्ची राजनीतिक शिकार हुँदा हुँदा गर्भदेखि बगेको मेलम्चीको आंसु अहिले सकिएको छ। आँसुु बग्ने ठाउँमा रगत आउन मात्र बाँकी छ। मेलम्चीलाई कथित् बोर्ड, बोर्डका आसेपासे संजालले कमसल र खोक्रो बनाएका छन्। निकुञ्ज नजिक बस्ने एकजना मित्रका अनुसार ११ जना स्थानीय बासिन्दा पेटी ठेकेदारहरुको साढे १६ करोड रुपैयाँ भरे दिन्छु र भोलि दिन्छु भनेको वर्ष दिन भइसक्यो। ती ठेकेदारहरु भुक्तानी नपाएर बलिन्द्र आँसुका धारा बगाइरहेका छन्।

दिनभरि ज्यालादारी गरेर परिवार पाल्नुपर्ने सुरुङभित्र जीउज्यान फयाँकेर काम गर्ने स्थानीय श्रमिकहरु ज्याला नपाएर रोइरहेका छन्। ३ करोड रुपैयाँ आज र भोलि चुक्ता हुन्छ भनेर आश्वासन दिएको महिनौंं भइसकेको छ। यहीबेला बाँकी बक्यौता राख्ने सचिव र कर्मचारीको सरुवा भयो भने हामी सबै यही खोलामा हाम फालेर मर्नुपर्दछ भनिरहेका छन् ती पीडितहरु। बिदेशी मात्र होइन मेलम्चीमा स्वदेशी दाजुभाइ दिदी बहिनीको आँसुको खोलो धेरै बगेर आँखा सुख्खा भइसकेको छ। राजधानीमा पानी आइहालेपनि त्यसमा पीडित श्रमिकको नुनिलो पसिना र अमिलो आँसुको गन्धले हामी उपभोक्ताको पेट घोच्ने छ।

इनफ इज इनफ
ज्यादै परिश्रमी र इमान्दार स्थानीय श्रमिकहरु मेलम्चीको लागि उपहार हुन्। उच्च कोटीको स्थानीय गिट्टी, बालुवा, ढुंगा, पानी आयोजनालाई वरदान स्वरुप प्राप्त निर्माण सामाग्री थिए। गुणस्तरीय निर्माणको संकल्प बोकेको इटालियन कम्पनी ढुंगा खोज्नेलाई देउता मिलेको थियो।

मेलम्ची खोलाको पहिचान गरेर खानेपानीको आयोजना बुनेको ३२ बर्ष पूरा भयो। मेलम्ची बिकास समितिले निर्माण काम प्रारम्भ गरेको २० बर्ष नाघ्यो। सुरुङ बनाउन थालेको १२ वर्ष भइसक्यो। सरकारले तुरुन्त पानी राजधानी आइपुग्ने भनेर राजनीतिक भाषण ठोकिरहे। तर काम बिलम्ब गराएर मेलम्चीलाई दुहुनो गाई बनाइरहे।

कमिसन नमिले ठेक्का तोड्ने र आफ्नालाई दिने गर्दा अस्थिर सरकारपिच्छेका नयाँ मन्त्री र सचिव, मन्त्रीपिच्छेका नयाँ ठेकेदारहरु, सचिबपिच्छेका १३ जना कार्यकारी निर्देशक र कर्मचारीहरुले मेलम्चीलाई रुवाउने र लुट्ने गरिरहे। ‘आयो आयो आयो’ भन्दै गरेको खर्चको फेहरिस्त २८ अरब ३० करोड नाघिसकेको छ। शिलान्यासदेखि सुरुङ परीक्षणसम्म विवाद नै विवादको खात छ।

हरेक सरकार प्रमुख, मन्त्री, सचिव र कार्यकारी निर्देशकले पाप नै पाप र बात नै बात्का भारी बोकेर लाज पचाउँदा मेलम्चीको यो हालत भएको हो। पापको भारी खोतल्ने र हेर्ने हो भने राजधानीबासीहरुले बरु काकाकुल झैं आकासको पानी खाने तर मेलम्चीको पानी बहिस्कार गरेर बागमतीबाट बगाइदिने संकल्प गर्ने भय छ। तसर्थ, दोष अरुकसैलाई दिन मिल्दैन। पबित्र मेलम्चीलाई पाप र दरिद्रताको पराकाष्ठा बनाएको देख्दा कसलाई पीडा नहोला?

न निरीक्षण, न अनुगमन, न निर्देशन, न करेक्सन् हचुवामा सुरुङ परीक्षण गर्न पठाउँदा होनहार इन्जिनियर र ड्राइभरको ज्यान गएको छ। कमिशनको खेलबाट गुज्रेर कमसल मालले झारा टारिएको सुरुङको पहिलो परीक्षणको शिकार भएका छन् निर्दोष होनहार प्राविधिकहरु। सुरुङभित्र अनवरत काम गर्ने प्राविधिकहरु भन्छन् सुरुङ बम हो, जुनसुकै बेला जहाँ पनि बिष्फोट हुन सक्दछ।

अपराधीलाई उभ्याऊँ
प्रतिबद्ध हिम्मतिलो राजनेताले विश्वसनीय अधिकार सम्पन्न छानविन टोली बनाएर एउटाले लेखा परीक्षण गर्ने र खर्चको पारदर्शिता र जवाफदेहिताको गहिराइमा पुगेर दोषीलाई कारवाही गर्ने। अर्को प्राविधिक विज्ञहरुको टोलीले निर्माणाधीन सुरुङको टेक्निकल जाँच पड्ताल गरेर त्यसलाई थप सबलिकरण, मजुतिकरण र सुदृढिकरण गर्ने ठाउँ छ भने सो गर्ने गराउने। प्रतिक्षारत आँसुका धारालाई बाँकी भुक्तानी शीघ्र गरेर पुछिदिने।

स्थानीय जनताको आँसु र आक्रोसको भारी नबोक्ने। उनीहरुलाई बिद्रोही र आतंककारी नबनाउने। जनताले देख्यौं। त्योभन्दा लाज विश्वले देख्यो देख्नेलाई लाज हुने गरेर। लगातार नेपालको विश्वसनीयता घट्यो। लगानी संभावना टर्यो। असक्षम, अदक्ष, अपरिपक्व, अनिर्णयको बन्दी, कच्चा, दरिद्र, गैह्र जिम्मेवार र असम्बेदनशील सरकारहरुको परिचय पर्दाफास भयो।

ती तपसिलका कसैले नगर्ने परिकल्पना मात्र हुन्। तर, पवित्र भूमिलाई सशरीर उपस्थित भई ढोगेर राष्ट्रिय गौरबको आयोजनाको सफल भविष्य पुकार्ने स्वयंसेवी पंक्तिकारको मन मुटु पीडाले पोल्दो छ। बलिन्द्र आँसुले गिलो र बमले थिलथिलो भएको पवित्र भूमिको पीडा र दर्द झन् कति गहिरो होला? जननी जन्मभूमिको सुन्दर र कोमल धर्ती तथा गौरवशाली निकुञ्जको पिंधलाई पुनः कोटीकोटी ढोगेर पंक्तिकार १० औंला जोडेर पुकार्दछु–

‘सुन्दर धर्ती चिर्ने, राष्ट्रिय ढुकुटी तुर्ने र जनतालाई तड्पाउनेहरुलाई उभ्याऊ, अपराधी करार गरी दण्ड देऊ सक्छौ भने। होइन भने अदृश्य शक्ति भगवान र प्रकृति पुकार्नुको विकल्प छैन ।दोषीलाई मातृभूमि माफ नगर, धर्ती क्षमा नगर, प्रकृति रक्षा नगर।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *