उद्धार नामको उडान र लावारिस पिडित

म कतार आएको गत वर्षको अप्रिल १५ तारीक हो, कतार आएकै पाचौं दिनमा टाईफाईको बिरामी भएर अस्पताल भर्ना भएँ। त्यहिबेला कम्पनीले मलाई भागेको आरोपमा उजुरी गरेछ। त्यसैले काम, तलव र बस्ने सुविधाको ज्ञारेन्टी हुने कुरै भएन । न्यायका लागि म दूतावासदेखि मानवअधिकारको कार्यालयसम्म धेरैपटक धाएँ, मेरो केही उपाय लागेन। अन्ततः मैले रोई कराई तथा सरसापट गरेर हवाई टिकट लिएँ घर फर्कनलाई।

कोरोनाको कारण अचानक हवाई उडानहरु बन्द हुन पुगे, म लकडाउनको मारमा परें। राहतको भरमा जेनतेन मैले आफुलाई धान्दै बसें।

सरकारले आफ्ना नागरिकहरुलाई उद्वार गर्ने रे भन्ने हल्ला चल्यो मेरो मनमा आशा पलाएर आयो। दूतावासलेपनि दुई चरणमा अनलाईन फारम भर्न सुचना जारी गर्यो, मैले जान्नेहरुको सहारामा दुबैपटक फारम भरें ‘घर जान पाऊँ सरकार भनी’।
करीव ५ हजारको नाम दूतावासले सार्वजनिक गर्यो, तर मेरो नाम नै परेन। मैले पटकपटक दूतावासमा फोन गर्ने प्रयास गरें मेरो फोन कहिल्यै उठेन।
धमाधम नेपालीहरु नेपाल जाँदैछन्, मेरो नाम लिस्ट मै परेन। म पिडित हुँ भनेर प्रमाण कहाँ बुझाऊँ कसलाई बुझाऊँ? मर्न सकिन्न बाँच्ने आधार नि छैन।
ऋणधन गरेर काटेको हवाई टिकट खेर गयो, उद्वार उडानबाट नेपाल जान पाईने आशामा धितो राखेर फेरि टिकटको जोहो गरेर बसें, तर मेरो नेपाल जाने आशा तुहिएर जाँदैछ।
नवलपुरका हनीफ असंख्य पिडितहरुका प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्ता साँच्चिकै पिडितहरुको लागि कोहि छैन यहाँ। असंख्य नेपालीहरु ‘लावारिश पिडित’ भएर भौतारिन बाध्य छन् यहाँ।
मजदुर संगठनको नाममा खोलिएका केही राजनितिक संस्थाहरुको अनुरोधमा कार्यकर्ताधारी पिडितहरुले मौका पाए, साझा संस्था भनेर खोलिएका संस्थाका ठूलै ओहिदासीनहरुको एक फोनमा दर्जनौंले अवसर पाए नेपाल जानलाई, तर हजारौं हनीफहरू आफ्नो नाममात्र लिस्टमा पार्नलाई भौतारी रहेका छन्।
कोरोनाको कहरसँगै अर्घाखाँचीका कबीर(नाम परिवर्तन गरिएको) को जागीर छुट्यो उनले आफू जागीर छुटेको कारण सहित फारम भरे, लिस्टमा नामपनी आयो, तर अचानक उनको आमा सिकिस्त बिरामी परेर अन्तिम स्वास लिँदै गरेको खबर आयो उनले अनुनय गरे र गर्न लगाए उनकोपनि जाने टुंगो छैन।
एकजना अनिल नाम गरेका भाईले सूक्ष्म तरीकाले दूतावासको नामलिस्ट केलाए, ५११२ जनाको लिस्टमा नाम नै नभएका १४ जना नेपाल पुगे। सन् १८ अगस्त २०१९ भन्दा पहिला तीन वर्षका लागि मलेसियाको श्रम स्वीकृति पाएका तर कतारमा रहेका करीव दर्जनभन्दा भढी महिलाहरुपनि उडान प्राथमिकतामा परेर नेपाल पुगी सके। कसरी आए, कुन गिरोहबाट आए त्यो नेपाल सरकारले जानोस वा स्वयम गिरोहले । तर अवैध प्रवेश भएको भने पक्का हो । नेपाल एयरपोर्टले राम्रै पैसा कमाएको अनुमान सहजै लगाउन सकिन्छ ।
आफ्नो बाऊको निधन भएको एकमहिना हुन लाग्यो तनहुँका नासिर(नाम परिवर्तन)ले आफू र आफ्नो छोराको फारम भरे फोन पनि गरे, तर उनको नामै परेन ।कपिलवस्तुका अर्शदले कोरोना बाहेकको गम्भीर बिरामी भएको प्रमाण सहित फारम भरे उनी लिस्ट मै परेनन् ।
आवस्यकता र प्राथमिकता, पीडा र पिडितको वास्तविक पहिचान र वर्गिकरण गर्न दूतावास चुक्यो वा ओहोदासीनहरुको भन्सुनले प्रभावित भयो सवाल व्याप्त छ। यो भावनाका छालहरू मात्र होईनन्, भ्रम मात्रपनि होईन। हुनेले सहज अवसर पाउने नहुनेका पीडा बल्झी रहने यो कस्तो उद्वार ? कस्तो प्राथमिकता ? कस्तो सहजीकरण ?
जुन २० र २२ गरि नेपाल वायुसेवा र हिमालय एयरलाइन्सको उडानबाट दुईवटा उद्वार उडान भई सके। भोलीपनि होलान् तर के हनीफहरुको पालो आउला ? गम्भीर बिरामी भएका अर्शदहरुले मौका पाउलान् ? कवीरहरुले आफ्नी आमालाई श्वास चल्दै गर्दा अन्तिम पटक भेट्न पाउलान् ?

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *