काठमाडौँ – चिनियाँ नागरिक र प्रहरीबिच झडप भएको घटनाबारे आफू जानकार रहेको नेपाल स्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल गरिरहेको नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार राति विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

प्रहरीमाथि आक्रमणमा उत्रिएका चार चिनियाँ नागरिकमाथि मुद्दा चलाउने तयारी भएपछि दूतावासले राति विज्ञप्ति जारी गरे घटनाबारे जानकार रहेको उल्लेख गरेको हो ।

नेपालमा रहेका चिनियाँहरुले यहाँको कानूनको पालना गर्नु पर्ने पक्षमा आफूहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्वदेश फर्किन पाउनु पर्ने माग गर्दै सिंहदरबार अगाडि धर्ना दिएका नेपालमा रहेका केही चिनियाँ र प्रहरीबिच शुक्रबार झडप भएको थियो । शुक्रबार ३० जना भन्दा बढी चिनियाँ नागरिकले धर्ना दिएका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गर्ने क्रममा झडप भएको हो ।

चीनले नेपालमा रहेका दुई सय भन्दा बढी आफ्ना नागरिकलाई बिहीबार स्वदेश लगेको थियो । तर जान नपाएकाहरुले चिनियाँ दूतावास र सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् ।

दूतावासले घटनाबारे जानकार रहेको बताए पनि पक्राउ परेका चिनियाँ नागरिकबारे के गरिने छ भन्ने स्पष्ट पारेको छैन ।

यो पनि पढ्नुहोस्

सिंहदरबार गेटमा सुरक्षाकर्मीहरुमाथि ढुंगा हान्न थालेपछि ३२ चिनियाँ पक्राउ, डिएसपी सामान्य घाइते (तस्बिरहरु)

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *