माटोलाई माया गर्ने भक्तपुरका प्रजापति, जसलाई आधुनिक तिहारले विस्थापित गरेको पालाको व्यापारभन्दा परम्पराको छ चिन्ता माटोलाई माया गर्ने भक्तपुरका प्रजापति, जसलाई आधुनिक तिहारले विस्थापित गरेको पालाको व्यापारभन्दा परम्पराको छ चिन्ता
माटोलाई माया गर्ने भक्तपुरका प्रजापति, जसलाई आधुनिक तिहारले विस्थापित गरेको पालाको व्यापारभन्दा परम्पराको छ चिन्ता



काठमाडौँः तिहार संघारमा छ। ‘फेस्टिभ मुड’लाई केही समय विश्राम दिएकाहरु तिहार मनाउने चटारोमा छन्। काठमाडौँका मुख्य बजारहरुमा तिहारका लागि आवश्यक सामान किन्नेको घुइँचो छ। साँझपख सडक छेउमा झिलिमिली बत्ती बल्न सुरु भइसक्यो। एकातिर यी चाइनिज बत्तीहरूले शहरलाई उज्यालो बनाइरहँदा कुनै समय माटोका पालाले चम्किने सहर खोज्न भने गाह्रो भइसक्यो। 

तिहार नजिकिँदै गर्दा मानिसहरू इलेक्ट्रिक बत्ती किन्न पसल धाइरहेका छन्। वर्षमा एकपटक भने हराउने संघारमा पुगेको पालाको व्यापार भने केही बढ्ने गर्छ। तर, पहिलाको तुलनामा निकै कम बिक्री हुन्छ।

करिब १० वर्ष अघिसम्म भक्तपुरका सहदेव प्रजापतिलाई दशैँको समयदेखि नै पाला बनाउन भ्याइनभ्याइ हुन्थ्यो। तर अहिले बजार सबै इलेक्ट्रिक बत्तीले लिँदा उनको शिल्पको अस्तित्व नै समाप्त हुने अवस्थामा छ।

आधुनिक तिहारसँग सहदेवको गुनासो धेरै छ। उनको पुस्तौनी पेशा संकटमा परिरहेको छ। माटोका भाँडाको व्यापार पहिला झैँ राम्रो छैन। मेहनत अनुसारको पैसा पनि आउँदैन। घर चलाउन र बालबच्चा पाल्न यसैको भर पर्ने अवस्था पनि छैन।

यद्यपि, यति छिटो नै पुर्ख्यौली पेशा त्याग्ने सोचमा छैनन् उनी। तर यसपटकको तिहारमा पनि धेरै पाला चाहिँ बनाएनन् उनले।

सहदेवको परिवारमा ५ जना छन्। उनीहरू सबै माटोकै भाँडाकुँडा बनाएरै आफ्नो जीविकोपार्जन गर्ने गर्छन्। पछिल्लो समय मट्का र खुत्रुके तुलनात्मक रूपमा धेरै बिक्री हुने गरेको उनी बताउँछन्।

‘लगभग त्यति नै मेहनत र माटो लाग्ने मट्कामा ८ रुपैयाँ आउँछ। त्यतिमै पालाको २ रुपैयाँ दिन पनि गाह्रो मान्छन्’, प्रजापतिले गुनासो गर्दै भने, ‘माटो किन्नुपर्छ। पाउन पनि गाह्रो छ। सानो गाडीको ७०० पर्छ। ठूलो गाडीको १० हजारसम्म पर्छ।’

पहिलाको कालो पुङ, तजवाला, झेवालनजस्ता माटाका भाँडा हराउँदै गएको सहदेवको भनाई छ। भने, ‘तामाङ समुदायमा यो भाँडामा सगुन लिएर जाने चलन हुन्छ। अझै मान्छे खेज्न त कहिलेकाहीँ आउँछन् तर हामीले स्टक राखेको हुँदैनौँ।’

त्यस्तै, पुस्तौनी माटोको भाँडाकुँडा बनाउँदै आएका तुलसीराम प्रजापति भट्टीमा भाँडाकुँडा पोलेर निकाल्दै गर्दा भेटिए। पहिला परालमा पोल्ने चलन भए पनि अहिले व्यवस्थित गरेर भट्टीमा पोल्ने गरेको उनले सुनाए।

पाला लगायतका माटोका सामान पोल्ने भट्टी तल दुईपट्टि ४ वटा कोठा (प्वाल) हुन्छ। ती कोठामा आगो बालेर करिब ३ दिन छोडेपछि सामान तयार हुने प्रजापतिले बताए। भट्टीको कोठामा देखाउँदै प्रजापतिले भने, ‘माथिल्लो कोठाको खरानी तलकोमा झर्ने भएकाले आगो बीचमा निभ्दैन।’

माटोको काम गर्दै हुर्केका उनी इलेक्ट्रिक र प्लास्टिकका सामानहरू बजारमा आइरहँदा पालाले मूल्य नपाएको उनको बुझाइ छ।

तिहारकै रमझमका लागि अहिले बिहानैदेखि पाला बनाउन जुटिरहेका छन् भक्तपुरका राकेश प्रजापति। पहिला खेतमा गएर आफैं खनेर माटो ल्याएर पाला बनाउने गरेको याद ताजा गर्दै उनले भने,’अहिले त किन्नु पर्छ। बुबाले यही काम गरेर जीवन बिताउनु भयो। उहाँसँगै सिकेर उनको कामलाई निरन्तरता दिँदैछु।’  

पाला बनाउन सजिलो छैन अहिले। पहिला जस्तो राम्रो माटो पाउन गाह्रो छ। सस्तो माटोको ‘क्वालिटी’ नहुने हुँदा पालाको बनोटमा समेत असर गर्छ। राम्रो माटो किनौँ भने धेरै महँगो पर्छ। लगानी उठ्न पनि गाह्रो छ।

युवा उमेर पार गर्दै गरेका राकेशले जसरी माटोलाई आफ्नो पेशाका रूपमा स्थापित गर्दै आएका छन्। त्यही रफ्तारमा नयाँ पुस्ताले माटोका सामान बनाउन काम बिर्सँदै गएकोप्रति उनको दुखेसो छ।

सानै उमेरमा बुबाबाट माटोको काम सिकेका उनी भन्छन् ‘काम गर्न गाह्रो छ, सिक्न झनै गाह्रो छ। ११/१२ वर्षकै उमेरमा केही सिक्यो भने सिक्यो नत्र गाह्रो छ। यसका लागि धेरै अभ्यास चाहिन्छ। अबको पुस्तामा सिक्ने चाहना नै छैन।’

घुम्दै गरेको चक्र ‘चाखा’तिर हेर्दै भने,’ हामी यसलाई देवताका रूपमा पूजा गर्छौँ। विश्वकर्माका रूपमा मानिन्छ।’

उनले आफूले काम सिक्दा ताकाको समय सम्झँदै त्यति बेला हातले चक्र घुमाएर परालमा पोलेर पाला बनाउने गरेको बताउँदै भने, ‘अहिले त मोटर छ। भट्टी छ। माटो घरमै ल्याइदिन्छ।’

माटोका पालाको व्यापार कम भए पनि मानिसहरूले यसको प्रयोग गर्न छोडेका छैनन्। पूजाका लागि त माटोकै पालाहरू प्रयोग हुन्छन्। तर अहिले भारतबाट विभिन्न डिजाइनका दियोहरू भित्रँदा यहाँको मौलिक पेशामाथि थप चुनौती थपिएको छ।

व्यापार कम भए पनि भक्तपुरका प्रजापतिहरूले माटोलाई माया गर्दै आएका छन्। त्यसैमा पर्छन् रोशन प्रजापति। अहिले पनि भक्तपुरको पोटरी स्क्वायरमा पाला सुकाइरहेको देख्न सकिन्छ। उनी भने तिहारका लागि चाहिने पाला पहिल्यै तयार गरेर बसेका छन्। हामी पुग्दा धुपौरो, मट्का बनाउन व्यस्त देखिएका उनले भने ‘यता बनेको सामान उपत्यकामै खपत हुन्छ। तिहारमा पाला जस्तै दशैँमा पानस, ठेकीहरू धेरै बिक्री हुन्छन्।’

पाला या माटोका अरू सामान एकै छिनमा बनिने भने होइन। सहदेव प्रजापतिले माटोका सामान बनाउने विधिबारे भने, ‘ सुरुमा सुख्खा माटो आउँछ। त्यसलाई भिजाएर, पेलेर या खुट्टाले किल्चिएर नरम बनाइन्छ। अहिले त त्यो पनि मेसिनले पेल्छ,’ उनले माटो मुछ्दै गरेको आफ्नो सहकर्मीतर्फ सङ्केत गर्दै भने, ‘ अब मुछ्ने, गिर्खाहरू हटाउने गरेपछि माटो रेडी हुन्छ। त्यसपछि यहाँ ल्याइन्छ।’

प्रजापति केहीबेर पाला र मटका बनाइरहन्छन्। ‘बुझ्नु भयो त्यो माटोलाई यहाँ ल्याएपछि के बनाउने हो त्यसको आकार दिइन्छ।’ आफूले बनाएका मट्का र पालाहरूलाई छेउमै राखेर देखाउँदै भने।

त्यसपछि आकार पाएका ती भाँडाहरूलाई सुकाइन्छ। रोशन प्रजापतिका अनुसार ती सामानलाई २/३ दिन सुकाएर भट्टीमा पठाउने गरिन्छ।

छेउमै रहेको भट्टीबाट सामान निकाल्दै गरेका तुलसीराम प्रजापतिले ३ दिन जति सामान भट्टीमा राखेपछि तयार हुने बताए। ‘यहाँबाट निकालेपछि सामान तयार भयो। यसलाई अब बेच्ने हो’ प्रजापतिले भने।

तर यी सबैको मनमा भविष्यको चिन्ता छ। आफूहरूले त पुर्ख्यौली पेशा धानिरहेकोमा गर्व गर्ने यिनीहरू भावी पुस्ता यस पेशामा संलग्न नहुनेमा चिन्तित छन्।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *