औषधिमा स्वदेशी उत्पादनलाई जोड, २५ अर्ब लगानीसँगै ४५ प्रतिशत आपूर्ति

काठमाडौँ, २८ साउन ।  नेपालमै पर्याप्त उत्पादन हुने औषधि विदेशबाट आयात भइरहँदा ‘औषधि उत्पादन गरी आत्मनिर्भर हुने’ नीति कार्यान्वयनमा समस्या देखिएको छ । सरकारले स्वदेशमा उत्पादन हुने औषधिको आयातमा रोक लगाई आत्मनिर्भर हुने नीति लिएको छ तर नीति कार्यान्वयन नहुँदा औषधि उत्पादनका क्षेत्रमा भएको २५ अर्ब रुपियाँ जोखिममा परेको छ ।
सरकारले गत वर्षको बजेट वक्तव्यमा नेपाललाई औषधि उत्पादनको क्षेत्रमा आत्मनिर्भर बनाउँदै लैजाने उल्लेख गरेको थियो । समृद्ध नेपाल निर्माणमा सरकारले औषधि उत्पादनका क्षेत्रमा लिएको नीतिले नेपालमा औषधि उत्पादन गर्दै आएका उद्योगी खुसी भएका थिए । तर सरकारको यो नीति कार्यान्वयन हुन नसकेको औषधि उत्पादकहरूको गुनासो छ ।
नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपकप्रसाद दाहालले भन्नुभयो, “स्वदेशी औषधि प्रवद्र्धन नगर्दा यस क्षेत्रमा रहेको ठूलो लगानी जोखिममा छ ।’’ नेपालमा सञ्चालित ५५ वटा औषधि कम्पनीमा २५ अर्ब रुपियाँ लगानी छ ।
अध्यक्ष दाहालका अनुसार भारत, बङ्गलादेश लगायतका मुलुकमा औषधि उद्योगलाई सरकारले जग्गा उपलब्ध गराउनेदेखि उद्योग मुनाफामा नजाँदासम्म करमा छुट दिने गरेको छ । विदेशमा औषधि उद्योग सञ्चालन गर्दा बैङ्कले सहुलियत ऋणलगायतका सुविधासमेत दिने गरेको उहाँ बताउनुहुन्छ ।
“विदेशमा देशभित्रै औषधि उद्योग खोल्न प्रोत्साहन गरिन्छ”, अध्यक्ष दाहालले थप्नुभयो, “नेपालमा सरकारले औषधि उद्योगलाई सहुलियत दिने हो भने आत्मनिर्भर हुन धेरै समय लाग्दैन ।” हाल नेपालमा ४५ प्रतिशत बजार नेपालमै उत्पादित औषधिले लिएको छ । बाँकी ५५ प्रतिशत भारतलगायतका अन्य मुलुकबाट भित्रने गरेको सङ्घले जनाएको छ ।
अध्यक्ष दाहालले नीतिगत रूपमै औषधिमा आत्मनिर्भर हुने सरकारको कदम राम्रो भए पनि हालसम्म सरकारको नीति कार्यान्वयन नहुनु दुःखद भएको बताउनुभयो । सरकारले बजेट भाषणका क्रममा औषधिमा आत्मनिर्भर हुन तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पालामा देशभित्रै पर्याप्त उत्पादन हुने ३५ किसिमका औषधिको आयात बन्द गर्ने नीति लिएको थियो । अध्यक्ष दाहालले विदेशी औषधिको हिस्सा बढी हुनुका पछाडि सरकारी नीति नै प्रमुख कारण भएको बताउनुभयो । गोरखापत्रमा खबर छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *