ल्हासा, तिब्बत । ८ देखि १५ जुलाई (असार २३ देखि ३०) सम्म चीन र त्यसमा पनि तिब्बत भ्रमण गर्दा तिब्बतको इतिहास, विकास, अर्थतन्त्र, पर्यटन, संस्कृति, कृषि र भूगोलबारे अन्तक्र्रिया गर्ने र बुझ्ने मौका मिल्यो । पढिए, सुनिएको तिब्बत र स्थलगत भ्रमणमा आफैले देखेको तिब्बतबीच धेरै फरक भेटियो । त्यसो त ल्हासादेखि सिगात्सेसम्म होस् वा बेइजिङमा भएका भेट र अवलोकनमा विषयवस्तु तिब्बत नै थियो ।

केही वर्षयता चीन आफै पनि सिङ्गो विश्वलाई हिजोको र आजको तिब्बतबीचको अन्तर देखाउन चाहन्छ । धेरैभन्दा धेरै देशका मानिसलाई तिब्बत पुर्याएर अवलोकन गराइरहेको छ ।

विभिन्न देशका नीति निर्माता, प्राध्यापक, पत्रकार, लेखक, राजनीतिक दलका नेता, वैज्ञानिक र सामाजिक जीवनका विशिष्ट व्यक्तित्वले हरेक साताजस्तो तिब्बतको भ्रमण गर्छन् । उनीहरु तिब्बतको विकासदेखि मानव अधिकार र दलाई लामाको विगतदेखि तिब्बतको जनजीवन बुझेर फर्कन्छन् । धेरैले मान्छन्– तिब्बतको इतिहास पढेर र पुरानो सोचमै रहेर अहिलेको तिब्बत बुझ्न सकिन्न । तिब्बत बुझ्न स्थलगत अध्ययन नै गर्नुपर्छ ।

राजनीतिक अधिकारमा सीमा तय भए पनि तिब्बतले विकासमा चाहिँ फड्को मारेको रहेछ । १९७० को अन्त्यदेखि तिब्बतको विकास दिन दुगुना, रात चौगुनाको हिसाबले भएको छ ।

तिब्बत स्वशासित क्षेत्रका जनसरकार सूचना कार्यालयका महानिर्देशक वाङ वेङ सेङका अनुसार तिब्बतको वार्षिक विकास दर सन् २०१८ मा ९.७ प्रतिशत थियो । यो दर वर्ष २०१९ मा १० प्रतिशत तोकिएको छ । उनका अनुसार तिब्बत सरकारको प्राथमिकता पर्यावरण संरक्षण, पर्यटन विकास, शुद्ध पानीको अपूर्ति र कृषि उत्पादन छन् । यसका लागि सङ्घीय सरकारले तिब्बतको बार्षिको बजेटको कुल रकममध्ये ९० प्रतिशत अनुदान उपलब्ध गराउँछ ।

साता लामो भ्रमणमा बेइजिङले तिब्बतमाथि गरिरहेको व्यवहार र दिएको ध्यान नजिकबाट बुझियो । र, सँगै नेपाल– तिब्बतका केही विषयवस्तुमाथि पनि ‘अपडेट’ हुने मौका मिल्यो ।  तिब्बतमा स्थायी बासिन्दाको जनसङ्ख्या करिब ४० लाख छ ।  यसमा ९२ प्रतिशत तिब्बती छन् भने ८ प्रतिशत बाहिरबाट जाने छन् । भ्रमणका क्रममा त्यहाँ शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ भन्ने देख्ने र बुझ्ने अवसर पनि मिल्यो । शिक्षा र स्वास्थ्यमा पनि नाटकीय रूपमा प्रगति भएको पाइयो ।

सन् १९५९ अघि तिब्बतमा एउटा पनि विद्यालय थिएनन् । ५० वर्षभन्दा बढीको मिहिनेतपछि तिब्बतले स्थानीय स्तरको शिक्षा प्रणाली स्थापना गर्न सफल भएको छ ।

गत वर्षको एक तथ्याङ्कअनुसार बालबालिका विद्यालय भर्ना दर ९९.५ प्रतिशत छ । यो प्राथमिक तहको शिक्षामा हो । विद्यालयसम्मको शिक्षा निःशुल्क छ । चिनियाँ र तिब्बती भाषामा यहाँ शिक्षा दिइन्छ । सन् १९८५ देखि तिब्बतले किसान र गोठालाका सन्तानलाई निःशुल्क खाना, आवास र शिक्षा प्रदान गर्दै आएको छ ।

सन् १९५९ अघि तिब्बतमा तीनवटा सरकारी मेडिकल संस्था र गन्न मिल्ने निजी क्लिनिक थिए । विकासको ५० वर्षपछि चिकित्सा र स्वास्थ्य नेटवर्क, तिब्बती र चीनका प्राचीन औषधिको सम्मिश्रण र पश्चिमा औषधिले देशको पूरा भूभाग ओगटेको छ भने ल्हासामा यसको वर्चस्व छ । स्वास्थ्यमा तीव्र विकासका कारण यस क्षेत्रको आयु दर सन् १९५० मा ३५.६ वर्षबाट अहिले ६८.१७ वर्ष पुगेको छ । स्वास्थ्य सुविधाहरू त्यस समयको तुलनामा कम्तीमा पनि ३५ गुणाले बढेको छ । यहाँका वृद्धाश्रममा सबै सुविधा छन् ।

सन् १९८० देखि २०१९ सम्मको अवधिमा करिब एक हजार आयोजना सञ्चालन भएका छन् । चीनको केन्द्र सरकारले यी आयोजनामा खर्बाैँ चिनियाँ युआन लगानी गरेको छ । सडक, रेलमार्ग, ठूला पर्वत तथा पहाडमा सुरुङ खनेरै राजमार्ग निर्माण गरिएका छन् ।

सन् १९५९ मा लोकतान्त्रिक सुधारपश्चात् तिब्बतले विशेषगरी कृषि र खेती किसानीमा आधुनिकीकरण भित्र्याउँदै आफ्नो उत्पादनको ढाँचालाई परिवर्तन गरेको छ ।

सन् १९५९ अघि तिब्बतमा कुनै आधुनिक उद्योग थिएन । अहिले यहाँ ऊर्जा, टेक्सटाइल, मेसिनरी, खानी, निर्माण सामग्री, केमिकल, फर्मास्युटिकल, प्रिन्टिङलगायतका २० क्षेत्रभन्दा बढीका आधुनिक उद्योग स्थापना भएका छन् । तिब्बतको ऊर्जा, यातायात र अन्य आधारभूत उद्योग फस्टाइरहेका छन् ।

साना उद्योग नै तिब्बतका ठूला उद्योग भएका छन् । पर्यटन, हुलाक र दूरसञ्चार, होटल र क्याटरिङ, संस्कृति तथा मनोरञ्जन लगायतका धेरैजसो उद्योग फस्टाउँदो छ ।

सन् २०१८ मा मात्र तिब्बतले तीन करोडभन्दा बढी पर्यटकलाई स्वागत गरेको छ । त्यसमध्ये तीस लाख पर्यटक विदेशी नै हुन् । पर्यटकको यो सङ्ख्या तिब्बतको जनसङ्ख्या भन्दा कैयौँ गुणा बढी हो ।

तिब्बत–काठमाडौँ रेल सपना

‘२०१४ मा सिगात्से र ल्हासा रेलमार्गले जोडिएको हो । २ सय ५३ किलोमिटर दुरी २ घण्टा १५ मिनेटमा पूरा हुन्छ । क्यूसुई, निमु, रेनवरपछि र सिगात्से स्टेसन आउँछ । चार स्टेशनमा ६७ जना कर्मचारी छन् । दैनिक दुईवटा रेल चल्छन् । एउटा रेलले दुई हजार यात्रुलाई सेवा दिन्छ’, सिगात्से रेलवे स्टेसनका निर्देशक वाङ स्याओ पिङले यस्तो बिफ्रिङ गरिरहँदा मेरो मानसपटलमा केरुङ–काठमाडौँ रेलको तस्बिर आयो ।

निर्देशक पिङले थप ब्याख्या गरे, ‘सिगात्से चीनकै दोस्रो अग्लो रेलवे स्टेसन हो । यो ३८ सय मिटरमा अवस्थित छ । नाचु भन्ने स्टेसन ४७ सय मिटर उचाइमा छ । यो स्टेसन १ सय ३८ हेक्टरमा छ । यसलाई रिकाजे रेलवे स्टेसन भनिन्छ ।’

निर्देशक पिङले ल्हासा–सिगात्से चिनियाँ केन्द्र सरकारको परियोजनाअन्तर्गत निर्माण भएको भनिरहँदा म लगायत हामी नेपालबाट गएका अन्य ४ जना साथीहरुमा पनि एउटा उत्सुकता देखिन्थ्यो । सिगात्सेबाट केरुङ हुँदै काठमाडौँ लैजाने भनिएको रेल योजनामा के काम हुँदैछ ? धेरै जिज्ञासा थिए । तर, निर्देशक पिङ् यसबारे थप व्याख्यामा लागेनन्, हुन सक्छ यो उनको क्षेत्राधिकारको विषय थिएन । उनले आफ्नो जिम्मेवारी बाहिरको कुरा गर्न चाहेनन् ।

प्रधानमन्त्री केपी ओलीले सपना बनाएको केरुङ–काठमाडौँ रेलको विषय चर्चामा छ । यसबाहेक सबैभन्दा पछिल्लो वार्ता असार ५ गते बेइजिङ भयो । नेपाल–चीन रेल्वे वार्तामा चीनले तिब्बत–काठमाडौँ रेलमार्ग बनाउने प्रतिबद्धता जनायो तर धेरै हतार र प्रचार नगर्न आग्रह गरेको छ । वार्तामा नेपालको तर्फबाट भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्की र चीनबाट राष्ट्रिय रेल प्रशासनका उपप्रशासक आन लुसङले नेतृत्व गरेका थिए ।

वैशाख दोस्रो साता बेइजिङमा आयोजित बीआरआई फोरम सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी थिइन् । सम्मेलनपछि ३८ देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ले स्थान पायो । यसले फेरि एक पटक तिब्बत–काठमाडौँ रेल मार्ग निर्माणको सपनालाई बचाइराख्यो । चीन तिब्बतलाई दक्षिण एसिया खोल्ने महत्त्वपूर्ण नाका बनाउन चाहन्छ । यसैले पनि सिगात्से–केरुङ–काठमाडौँ रेलमार्गको सम्भावना जीवितै छ ।

पछिल्लो एक वर्षमा चार पटक रेलसम्बन्धी सचिवस्तरीय बैठक पनि भएका छन् ।  प्रधामन्त्री  ओलीको गत गत वर्ष असार ५ देखि १० सम्म भएको चीन भ्रमणमा रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । हुन त राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको चीन भ्रमणमा चीनले रेलमार्ग बनाउने राजनीतिक प्रतिबद्धता व्यक्त गरेका छन् । तर, यो रातारात बन्ने योजना होइन ।

प्राविधिक रूपमा रेलमार्ग निर्माण त्यति सहज छैन । त्यसैले आयोजनाको घोषण हुन बाँकी छ । नेपाल वा चीनबाट हुने उच्च स्तरीय भ्रमणमा आयोजनाको घोषणा सम्भव छ । त्यस अगाडि प्राविधिक तयारी पूरा गर्नुपर्ने हुन्छ ।

प्राविधिकपक्षको विषय सम्भाव्यता अध्ययन सुरु भएको छैन । यसका लागि नेपालले दुई अर्ब रुपैयाँ छुट्याएको छ । चीनले नेपाललाई हरेक वर्ष एक अर्ब युआन (करिब १७ अर्ब रुपैयाँ) अनुदान दिन्छ । यसैबाट मिलान गर्ने गरी रेलमार्गको सम्भाव्यता अध्ययनमा दुई अर्ब खर्च गर्ने नेपालको प्रस्ताव छ ।

सम्भाव्यता अध्ययनअघि प्राविधिक अध्ययन प्रतिवेदन चाहिन्छ । चीनको नेसनल रेल्वे अथोरिटी अफ चाइनाले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई २०७५ को मङ्सिरमै बुझाइसकेको छ ।

प्रारम्भिक अध्ययनमा काठमाडाँै–केरुङ रेलमार्गको दूरी करिब ८० किलोमिटर हुने देखिएको छ । निर्माण अवधि नौ वर्ष र करिब तीन खर्ब लगानी लाग्ने अनुमान छ । सम्भाव्यता अध्ययनको लगानी मोडालिटीबारे टुङ्गो लाग्न बाँकी छ । चीनले सम्भाव्यता अध्ययन सुरु हुनु भनेको निर्माण सुनिश्चित गर्नु हो भन्ने आश्वस्त पार्न चाहेको छ ।

आगामी पुस–माघसम्म चीनले प्राविधिक परीक्षण सम्पन्न गर्ने सम्भावना छ । चीनको विज्ञान तथा प्रविधि विभागअन्तर्गतको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनले प्राविधिक अध्ययन गरिरहेको छ । सिगात्से–केरुङ रेल मार्गलार्ई चीनले रणनीतिक रेलमार्गका रूपमा लिएको छ । पिपुल्स कङ्ग्रेसको सन् २०१६ को बैठकमा सीमा क्षेत्रसम्म रेल लैजाने योजना तिब्बत सरकारका प्रमुखले पेश गरेका थिए ।

पहिला सिगात्से–केरुङ रेल विस्तार गरेपछि केरुङ–काठमाडौँ योजना अगाडि बढ्ने हो । चीनकोे १३औँ योजनामा केरुङसम्म रेल विस्तारको सपना छ । अर्थात सन् २०२२ सम्म सिगात्से–केरुङ रेलमार्ग बनाउने चिनियाँ योजना छ । र, पनि केरुङबाट चिनियाँ रेल काठमाडौँ आउँछ भन्ने आशा जीवित छ तर कहिले भन्ने अनिश्चित छ ।

नेपाल–तिब्बत सम्बन्ध

नेपाल–तिब्बत सम्बन्ध धेरै पुरानो छ । त्यसैले चीनको थिङ्क ट्याङ्क मानिने सीआईसीआरआरका अध्येता प्रा. हु सेसङले गत वर्ष बेइजिङस्थित नेपाली दूतावासको कार्यक्रममा पुगेर नेपाल–तिब्बत सम्बन्धका केही पहलु खोतलेका थिए ।

‘हामी दुवै देशका राष्ट्रिय स्वार्थका मुद्दामा एकअर्काप्रति संवेदनशील छौँ । चीन–नेपाल र भारत दुवैसँगको सम्बन्धका हकमा सतर्क रहँदै आएको छ । नेपाललाई भारत र चीनमध्ये एक रोज्नुपर्ने अवस्था आउन नदिन हामी सचेत छौँ । नेपालका सरकारहरूले पनि नेपालमा स्वतन्त्र तिब्बतसम्बन्धी गतिविधि रोक्न सकारात्मक भूमिका खेलेका छन् ।’ उनको कार्यपत्र थियो, ‘चीनबाट अवैध रूपमा हुने तिब्बतीको आप्रवास रोक्न ठूलो प्रयास जारी छ । २००५ पछि यो सङ्ख्या ह्वात्तै घटेको छ । काठमाडौँको चीनमैत्री नीतिकै कारण दलाई लामाले अहिलेसम्म नेपालको भ्रमण गरेका छैनन् ।’

तिब्बत स्वशासित क्षेत्रको जनसरकारको सूचना कार्यालयका महानिर्देशक सेङ भन्छन्, ‘नेपालसँगको सम्बन्धलाई तिब्बतले निकै महत्त्वका साथ लिन्छ । हामी नेपालका प्रादेशिक सरकारहरुसँग पनि मिलेर काम गर्न चाहान्छौँ । चीनसँगको नेपालको ब्यापार घाटा कम गर्न दुवै सरकारबीच नयाँ योजनाको तयारी भइरहेको छ । यसका लागि दुवै देशबीचको  सीमा व्यापार बढाउन द्विपक्षीय व्यापार वार्ता पनि चलिरहेको छ ।’

नेपाल–तिब्बत सम्बन्ध कस्तो छ ? भन्न ल्हासामा रहेको नेपालको वाणिज्य दूतावास ठूलो प्रमाण हो । हाम्रो व्यस्तताका कारण हामी दूतावास अफिसमा भने पुग्न सकेनौँ तर यसको इतिहासबारे भने सामान्य बुझेका थियौँ । सन् १९६० को चीनसँगको युद्धपछि भारतले तिब्बतमा रहेको आफ्नो कूटनीतिक नियोग बन्द गर्यो । चीनको स्वशाशित क्षेत्र तिब्बतको ल्हासामा नेपालको वाणिज्य दूतावास छ । तिब्बतमा रहेको एक मात्र कूटनीति नियोग हो यो ।

यसको पुरानो इतिहास छ । सन् १८५६ मा वकिल अफिस भनेर नेपालको कूटनीतिक कार्यालय खुलेको थियो । १९५५ मा जब नेपाल–चीनबीच कूटनीति सम्बन्ध स्थापित भयो । अर्को वर्ष सन् १९५६ मा नेपाली महावाणिज्य दूतावास ल्हासा भनेर नाम परिवर्तन भयो ।

चीन भ्रमणमा जाने नेपालका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि तिब्बत पुग्छन् । पछिल्लो पटक राष्ट्रपति भण्डारी गत वैशाखमा चीन भ्रमणमा जाँदा ल्हासा पुगेकी थिइन् । जहाँ राष्ट्रपति भण्डारीले भूगोलको हिसाबले नेपाललाई उत्तरतिर चीनको तिब्बतले नै जोड्ने भएकाले यस क्षेत्रको भ्रमण गर्नु अति आवश्यक भएको बताएकी थिइन् ।

त्यस अगाडि प्रधानमन्त्री केपी शर्मा ओली २०७५ असारमा ५ देखि १० गतेसम्म चीन भ्रमणका गएका बेला ल्हासा पुगेका थिए । त्यसबेला उनले पोताला दरबार र जोखाङ मन्दिर अवलोकन तथा कृषि परियोजना निरीक्षण गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच भेटवार्ता भएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष एवं ऐतिहासिक रहेको बताउँदै आगामी दिनमा नयाँ आधारमा सम्बन्धलाई थप प्रगाढ बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

प्रधानमन्त्री ओलीसँगै ल्हासामा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि पुगेका थिए ।

त्यसभन्दा पहिला २०७४ असार दोस्रो साता प्रधानमन्त्री ओली मानसरोवर गएका थिए । त्यसबेला अधिकांश समय ल्हासामै विताए । त्यसअघि बोआओ फोरममा भाग लिन चीन गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि ल्हासा पुगेका थिए ।

सन् २०१५ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव पनि बोआओ फोरममा भाग लिएर ल्हासा आएका थिए । त्यहाँ उनी तीन दिन बसेका थिए । पूर्वउपराष्ट्रपति परमानन्द झा दुई पटक ल्हासास्थित वाणिज्य दूतावास पुगका छन् । तिब्बत सरकारका अधिकारी पनि बेला–बेला ल्हासास्थित नेपाली वाणिज्य दूतावास पुग्छन् ।

नेपाल–तिब्बत भनौँ वा नेपाल–चीनकै नै किन नहोस्, दुई देशबीचको सांस्कृतिक सम्बन्धमा मञ्जुश्री, भृकुटी, अरनिकोजस्ता सांस्कृतिक दूतले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने काम गरेका छन् । चीनबाट नेपाल गएका मञ्जुश्रीले चोभारको गल्छी काटेर तालको पानी बाहिर पठाई काठमाडौँ उपत्यकामा बस्ती बसाएको किंवदन्ती छ ।

नेपाली राजकुमारी भृकुटीले तत्कालीन तिब्बती सम्राट स्रोङचङ गम्पोसित विवाह गरेर नेपाली संस्कृति र परम्परालाई चीनमा पुर्याएकी थिइन् । सात सय वर्षअगाडि नेपाली कालीगढ अरनिको चीन पुगेका थिए ।

यसबाहेक विसं १३१७ र १८ मा सांस्कृतिक सम्बन्ध, शिल्पकार अरनिको ८० जना कलाकारको टोलीसहित तिब्बतको ल्हासा पुगे, चीनको बादशाहको दरबारमा शिल्पकारहरुको प्रमुख बनेको इतिहास छ । यसैगरी विसं १८१२ मा कुती प्रदेशका ढेवा (प्रशासक)हरुसँग गोरखामा काटिएका चोखा, चाँदीका मोहोर चलाउने गोरखालीहरुको सम्झौता भएको इतिहास छ ।

विसं १८४५ देखि ४७ सम्म खोटा टकको विषयमा विवाद बढेपछि नेपाल–तिब्बत युद्ध भयो । कुती, केरुङ, डिगर्चामा नेपालको विजय भयो । नेपाललाई वार्षिक ५० हजार १ रुपियाँ बुझाउनुपर्ने सम्झौता भयो । विसं १८४८ र ४९ मा तिरो नबुझाएपछि नेपालले तिब्बतमाथि आक्रमण गर्यो । तिब्बतलाई चिनियाँ सैनिकले सघाएपछि नेपाल पराजित भयो । पाँच–पाँच वर्षमा नेपाली प्रतिनिधिमण्डल उपहार लिएर चीनका बादशाहलाई भेट्न जानुपर्ने सन्धि भयो ।

तिब्बतसँगको सीमा नाकाको पुरानो इतिहास छ । छैटौँ शताब्दीमा कुती–तातोपानी र केरुङ– रसुवागढीबाट नाका सञ्चालनमा आएको पाइन्छ । सातौँ शताब्दीमा वैवाहिक सम्बन्ध गाँसियो, तिब्बती राजा स्रङचङ गम्पोले नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेको पाइन्छ । सातौँ शताब्दीमै पहिलो पटक चिनियाँ नागरिकको नेपाल प्रवेश, चिनियाँ तीर्थयात्री हुएन्त्साङ मध्य एसियाको खोतान–भारत हुँदै नेपाल (पाटन) आएको र कुती हुँदै फर्केको इतिहास छ ।

विसं १९११ र १२ मा सीमा र चरण क्षेत्र विवाद बढेपछि नेपाल–तिब्बत युद्ध भयो । नेपालको जित भयो । वार्षिक १० हजार रुपियाँ नेपाललाई बुझाउने सहमति बन्यो । विसं २०१३ मा प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको चीन भ्रमणका क्रममा अघिल्लो सन्धि खारेज भयो । विसं २०२४ मा अरनिको राजमार्गले चीन–नेपाल जोडियो । तर, २०७२ को भूकम्पको कारण देखाउँदै चीनद्वारा बन्द तातोपानी नाका बल्ल खुलेको छ ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच पारस्परिक हित प्रवद्र्धनसम्बन्धी समझदारी भइरहेका छन् । नेपाल र चिनियाँ पर्यटकको आवत–जावत सहज बनाउने कोसिस भएका छन् ।

पर्यटक आवागमन सहज तुल्याउन रसुवागढी—केरुङ सीमा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण द्रूतगतिमा अघि बढाउने, स्तरीय पूर्वाधार तयार भएपछि पर्यटकका निम्ति नाका खोल्ने, कैलाश मानसरोवर क्षेत्रमा सीमापार पर्यटन विकासका निम्ति  हुम्ला र पुलान काउन्टीमा आवश्यक सहयोग आदान प्रदान गर्ने, काठमाडौँ– ल्हासा सीधा बस सेवा पुनः सञ्चालन गर्ने, धार्मिक पर्यटकलाई बहुप्रवेश प्रवेशाज्ञा (भिसा) काठमाडौँस्थित चिनियाँ राजदूतावासबाट उपलब्ध गराउनेजस्ता सहमति भएका छन् । त्यसले भोटसँगको पुरानो व्यापारिक पुनर्जीवित बनाउने प्रयास देखिन्छ ।

तिब्बतमा झन्डै पाँच सय नेपाली छन् । हामी घुम्दै जाँदा एउटा नेपालीको पसलमा पुग्यौँ । ६५ वर्षीय रत्नकुमार तुलाधर ल्हासाको भाकोरमा ३५ वर्षदेखि पसल सञ्चालन गरिरहेका रहेछन् । उनी सुरुमा त्यहाँ जाँदा ४०, ५० वटा नेपालीका पसल थिए । अहिले नेपाली पसल उनको मात्रै हो । यो पसल १३५ वर्ष पुरानो हो । पसलको सुरुवात मणिहर्ष ज्योतीले स्थापना गरेका हुन् । उनी रूप ज्योतिका पुर्खा हुन । उनका अनुसार यहाँ पसल सञ्चालन गर्न कुनै गाह्रो छैन । स्थानीयले पनि आदर गर्छन् ।

तिब्बतको ल्हासामा कार्पेट तथा उल, हस्तकला, क्युरियो समान, लत्ताकपडा, होटल तथा रेस्टुरेन्ट, ब्युटी पार्लर, गहना पसल, किराना पसललगायतका  व्यापार व्यवसायमा नेपालीहरु पनि छन् । उनीहरुको आर्थिक अवस्था राम्रो छ ।

तिब्बतको भूगोल र मौसम

तिब्बतको भूगोल गजबको छ । तिब्बतलाई तीन भागमा विभाजन गरिएको छ– उत्तरी तिब्बत उच्च समभूमि, यारलुङ जाङ्बो नदी क्षेत्र, पूर्वी तिब्बत उपत्यका । 

तिब्बत स्वायत्त क्षेत्र पश्चिमी चीनको पहाडी मैदान क्विनघाई–तिब्बतमा अवस्थित छ । यसलाई जिन्जियाङ युगुर स्वायत्त क्षेत्र, क्विनघाई, सिचुवान र युनान प्रान्तले घेरेको छ । यसले नेपाल, भारत, भुटान र म्यानमारसँग ४ हजार किलोमिटर सीमा बाँडेको छ  ।

तिब्बत संसारको सबैभन्दा अग्लो अक्षांशमा अवस्थित छ । त्यसैले तिब्बतलाई ‘संसारको छानो’ र ‘विश्वको तेस्रो खम्बा’ भन्ने गरिन्छ । यहाँका विभिन्न पहाडमध्ये ५० भन्दा बढी ७ हजार मिटर र ११ वटा पहाड ८ हजार मिटर अग्ला छन् ।

४ हजार ५ सय मिटरको उचाइमा अवस्थित उत्तरी तिब्बत उच्च समभूमि पूर्वी गारी प्रान्त र मध्य पश्चिम नाग्क्यु प्रान्त रहेका छन् । यो उच्च समभूमि तिब्बतको मुख्य खर्कक्षेत्र हो । यारलुङ जाङ्बो नदी क्षेत्र हिमालय र ग्याङ्डाइज सीमामा ३ हजार ५ सयको उचाइमा रहेको छ । यो नदी क्षेत्र तिब्बतको मुख्य कृषि र खर्कक्षेत्र हुनुका साथै अधिकांश तिब्बतीको बासस्थान हो । पूर्वी तिब्बत उपत्यकाबाट भिरालो पहाडका उत्कृष्ट दृश्य देखिन्छन् ।

तिब्बतको जटिल स्थान वर्णन र वायुमण्डलका कारण यहाँको मौसम अचम्मको छ । यहाँको साधारण मौसम न्यानो छ भने दक्षिणतर्फ आद्रता छ । यसका साथै उत्तरी पश्चिमी इलाकामा पानी पर्याप्त नपर्ने भएकाले चिस्यानको कमी छ । धेरैजसो यहाँका क्षेत्रका मौसम एकअर्काको ठीक विपरीत हुने गर्छ । वर्षभरि यहाँको तापक्रम –२.८ देखि ११.९ डिग्री सेल्सियसको बीचमा रहने गर्छ ।

तिब्बतको उच्च समभूमिमा अवस्थित ल्हासामा वर्षभरि ३ हजार घण्टा घाम लाग्छ, जसका कारण यसलाई ‘घामको सहर’ भनिन्छ ।

त्यहाँ साँझको ८ बजे पनि छर्लङ्ग घाम लागेको देख्न पाइन्थ्यो । मलाई यो चाहिँ अनौठो लागेको थियो । जबकि नेपाल र चीनबीच सवा २ घण्टा समय फरक छ ।

ल्हासामा तुलनात्मक रूपमा वर्षभरि नै मध्यम खालको मौसम हुन्छ । यो ठाउँमा न त उखर्माउलो गर्मी हुन्छ,  न त हड्डी चिस्याउने जाडो । यद्यपि, एकै दिनको रात र दिनको तापक्रममा भने निकै भिन्नता हुने गर्दछ । जुलाई महिनाको औसत तापक्रम १५.७ डिग्री हुने गर्छ भने उच्चतम तापक्रम औसतमा २२.९ डिग्री पुग्ने गर्छ । जनवरीमा औसत तापक्रम –२ डिग्री सेल्सियस हुने गर्छ भने न्यूनतम तापक्रम औसतमा –९.७ डिग्री सेल्सियस हुने गर्छ । पर्यटकलाई मौसमले साथ दिएकै हुन्छ ।

यस्तै तिब्बत प्राकृतिक स्रोतमा धनी छ । संसारका पाँच विशाल खर्के जग्गामध्ये एक तिब्बतमा पर्छ जुन ८ करोड ८९ लाख ३० हजार हेक्टरमा फैलिएको छ । साथै यहाँको जङ्गलले १ करोड ७८ लाख ३६ हजार हेक्टर जग्गा ओगटेको छ भने २ अर्ब २८ करोड ८० लाख क्युबिक मिटर जीवित रूख रहेका छन् ।

तिब्बतको सांस्कृतिक सम्पदा

सांस्कृतिक सम्पदाले तिब्बत निकै धनी छ । तिब्बतको आधुनिकीरणको प्रक्रियामा यहाँको संस्कृतिक विकास पनि जोडिएको छ । तिब्बती भाषाको जगेर्नामा विशेष जोड दिइनुका साथै पारम्परिक तिब्बती औषधिको अभ्यास, थाङ्का पेन्टिङ, तिब्बती गीत–सङ्गीतलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिँदै आएको छ ।

तिब्बतमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता छ । तर यहाँका मानिसहरु बोनिजम, इस्लाम र इसाई धर्ममा पनि विश्वास राख्छन् । साधारणतया तिब्बती, मोन्बास र लोबास बौद्ध धर्मावलम्बी हुन्छन् भने हुई जातिका मानिसहरु मुस्लिम र नाक्षी हुन्छन् भने केही तिब्बती क्याथोलिक पनि हुन्छन् ।

तिब्बतमा ठूलो सङ्ख्यामा बौद्ध भिक्षु–भिक्षुणी रहेका छन् । धार्मिक क्रियाकलापका १७ सय स्थानमध्ये ८८ बोन मन्दिर, चार मस्जिद र एउटा क्याथोलिक चर्च छन् ।

तिब्बत प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक र सांस्कृतिक छटाले भरिपूर्ण छ । ल्हासाको रमणीय स्थलमा पोटाला प्यालेस, जोखाङ्ग टेम्पल, रामोचे टेम्पल, बार्खोर स्ट्रिट, नोर्बुलिङ्गका पार्क, नाम्को लेक र तीन मुख्य विहार : सेरा मोनास्ट्री, गान्देन मोनास्ट्री र ड्रेपुङ मोनास्ट्री रहेका छन् ।

तिब्बतको सबैभन्दा पुरानो आकर्षक भवन पोताला दरबारमा सन् १९५९ सम्म दलाई लामाको बसाइ थियो । सातौँ शताब्दीको सुरुवातमा निर्माण भएकाले पनि पोताला दरबारमा अमूल्य सांस्कृतिक अवशेष रहेका छन् । दरबार युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको छ । पोताला दरबारमा १३ तला छन । तीमध्ये एउटा तला युनेस्कोको सल्लाह अनुसार बन्द गरिएको छ ।

चट्टान मथि आकर्षक र मौलिक तिब्बतेली शैलीमा निर्मित यो धरोहर तिब्बतेली धर्म, कला र संस्कृतिको बेजोड नमुना मान्न सकिन्छ ।

सुनको प्रशस्त प्रयोग र कलाकारिताको अनुपम कृति झल्कने यो पोतालाको भित्री संरचनामा नेपालको मध्यकालीन बौद्धकला, शाक्यमुनि बुद्ध र तिब्बतेली बौद्ध कलाको महत्त्वपूर्ण सम्मिश्रण पाइन्छ । अहिलेको युग शाक्यमुनि गौतमको रहेको र यो अझै आउने दुई हजार वर्षसम्म कायम रहने विश्वास तिब्बतेलीहरुको छ । त्यहीअनुसार उनलाई अत्यन्तै श्रद्धापूर्वक पुज्ने गर्दछन् । नेपाली चेली राजकुमारी भृकुटीलाई यहाँ बौद्ध धर्मको प्रचार र परिमार्जन गरेको भनि श्रद्धापूर्वक हेरिने गरिन्छ । उनका मूर्ति पोतालाका विभिन्न कक्षहरुमा देख्नस किन्छ । 

जोखाङ मन्दिर पनि तिब्बतको महत्त्वपूर्ण धरोहर हो । यसको निर्माण भृकुटीको समयमा गरिको पाइन्छ । तिब्बतेली बौद्ध  परम्परा र नेपाली कलाको बेजोड नमुना मान्न सकिन्छ ।

तिब्बतेली बौद्ध परम्परा, शाक्य मुनि बुद्ध तथा अन्य बुद्धहरुको सङ्गम यो मन्दिर निर्माणमा नेपाली, भारतीय र तिब्बतेली वास्तुविदहरुको संलग्नता रहेको पाइन्छ । त्यसैले यो स्तुपलाई मन्दिर नै भन्ने गरिएको पनि हुन सक्छ । यहाँका रहेक कोठामा रहेका रिम्योछेका मूर्ति र मन्दिर स्तुपहरु सुनले बनाइएका छन् । आधुनिक कालसम्म आइपुग्दा पनि हरेक वर्ष यहाँ केही न केही अंश थपिएको हुन्छ ।

मन्दिरका गाइड तोपग्येल तिब्बतेली बौद्ध परम्परामा शाक्यमुनि बुद्धलाई अत्यन्यै आदरका साथ पुजिने बताउँछन् ।

सिगात्सेको चर्चित रमणीय स्थलमा माउन्ट चोमोलाङ्मा (सगरमाथा), तास्हिल्हुन्पो मोनास्ट्री, शाक्य मोनास्ट्री, पाल्खोर मोनास्ट्री, सालु मोनास्ट्री रहेका छन् ।

यस्तै लोखा तिब्बती संस्कृतिको जन्मभूमि हो । यहाँको रमणीय स्थलमा तिब्बती राजाहरुको चिहान, युन्बोल्हाकाङ, सम्या मोनास्ट्री, ट्रान्ड्रुक टेम्पल, चोङ्ए जोङ्ग क्यासल र लेक याम्जोग युम्को रहेका छन् । साम्या मोनाट्री तिब्बती बौद्ध धर्मावलम्बीका लागि समर्पण गरिएको पहिलो बिहार हो ।

पूर्वी तिब्बतमा रहेको निङ्ची आफ्नो सुन्दर प्राकृतिक दृश्य, घना जङ्गल र अन्य प्राकृतिक स्रोतका कारण चर्चित छ । यहाँको मनोरम स्थलमा लेक ड्राक्सुम–सो, लुनाङ्ग फरेस्ट, यार्लुङ जाङ्बो ग्रान्ड क्यान्योन र यिगोङ्ग नेसनल जियोपार्क रहेका छन् ।

पूर्वी तिब्बतको निकै चर्चित पर्यटकीय स्थलमा क्वाम्दोलाई लिइन्छ । यहाँको मनोरम स्थलमा कारुब नियोलिथिक एज कल्चरल रुइन र टी हर्स ट्रेड रोड रहेका छन् । 

तिब्बती नयाँ वर्ष तिब्बती क्यालेन्डरको सबैभन्दा महत्त्वपूर्ण पर्वमध्येको एक हो । यो पर्व १५ दिनसम्म मनाइन्छ । तिब्बती क्यालेन्डरको १२औँ महिनाको २९ गतेको बेलुका परिवारका सदस्य ‘गुटु’ खानका लागि जम्मा हुन्छन् । ‘गु’ को अर्थ ‘९’ र ‘टु’ को अर्थ विशेष प्रकारको चाउचाउ हो । गुटु खाँदा रोग निवारण हुने र राम्रा दिनहरुको आगमन हुने मान्यता रहिआएको छ । नयाँ वर्षको दिनमा तिब्बतीहरु निकै राम्रो पहिरन लगाएर आफन्तहरुलाई ‘टासी देलेक’ भन्दै शुभकामना आदान प्रदानका लागि व्यस्त हुन्छन् ।

योगर्ट भनिने सोटोन पर्व तिब्बती क्यालेन्डरको छैटौँ महिनाको ३० गते मनाइन्छ । यस दिनमा ड्रेपुङ्ग मोनास्ट्रीमा थाङ्का प्रदर्शन गरिनुका साथै नोर्बुलिङ्का पार्कमा तिब्बती ओपेराको प्रदर्शन गरिन्छ ।

ओङ्कोर पर्व हजार वर्ष पुरानो हो । यो पर्व साधारणतया तिब्बती क्यालेन्डरको सातौँ महिनाको अन्तिम दिन वा आठौँ महिनाको सुरुवातमा पर्ने गर्छ । यो पर्व विशेषगरी ल्हासा, सिगात्से, लोखा र नियङ्चीमा मनाइन्छ । खेतमा राम्रो उत्पादनको प्रार्थनासहित यो पर्व मनाइन्छ । साथै, यो दिनलाई नाच्ने, गाउने, घोड सवारी, याक दौड, रेसलिङ पनि खेलेर मनाइन्छ ।

अन्य पर्वमा बटर ओइल ल्याम्प डे जुन तिब्बती क्यालेन्डरको पहिलो महिनाको १५ गते मनाइन्छ । यस्तै, चौथो महिनामा पर्ने सागा दावा पर्व, ९औँ महिनाको २२ गते मनाइने लबाब ड्युचेन पर्व, १०औँ महिनाको १५ गते मनाइने पेल्डेन ल्हामो पर्व र १०औँ महिनाकै २५ गते मनाइने ल्याम्प पर्व पर्छन् ।

तिब्बतको इतिहास

इतिहास पनि तिब्बतको गजवको छ । तिब्बतलाई प्राचीन कालमा जाङ्बो अर्थात् छोटकरीमा जाङ्ग भनिन्थ्यो । ताङ्ग वंश (६१८–९०७) र सोंग वंश (९६०–१२७९) मा यसको नाम तुबोमा परिवर्तन भयो । साथै, युनान वंश (१२७९–१३६८) मा पुनः तिसाङ्ग भयो भने क्विन वंश (१६४४–१९१२) मा यो तुबातिनमा परिवर्तन भयो । क्विन सम्राट काङ्क्षीको शासनकाल (१६६१–१७२२) मा यो क्षेत्रलाई तिब्बत भन्न थालियो ।

पुरातात्विक अनुसन्धानले हज्जारौँ वर्षअघि तिब्बतमा मानव बस्ती भएको पत्ता लगाएको छ । यस क्षेत्रमा ४ हजार वर्षअघि जनजाति बस्ती भएको बताएको छ । केही शताब्दीभित्रै यी साना जनजाति बिस्तारै अन्य आदिवासी समूहसँग मिश्रित भए । इ.पू.को चौथो शताब्दीताका तीन शक्तिशाली जनजाति गठबन्धन भइसकेको थियो– उनीहरु साङ्सुङ, यारलुङ र सुम्पा थिए ।

सातौँ शताब्दीमा राजा सङ्त्सेन ग्याम्बोले यी जनजातिलाई उच्च समभूमिमा सारेर तुबो शासनको थालनी गरे । उनले ताङ्गकी राजकुमारी वेन्चेङ्गसँग विवाह गरेपछि तिब्बत र ताङ्ग वंशबीच राजनीतिक र सांस्कृतिक सम्बन्ध स्थापित भएको थियो । पछि ताङ्गकी राजकुमारी जिन्छेङ्गले तिब्बती राजालाई विवाह गरिन्, जसका कारण तुबो र ताङ्गबिच ‘मामा भाञ्जा’को सम्बन्ध स्थापित भयो ।

मङ्गोल खानेतको शासनले सन् १२७१ मा आफ्नो नामलाई युआनमा परिवर्तन गर्यो भने सन् १२७९ मा ‘एकीकृत चीन’ बनायो । युआन वंशको केन्द्रीय सरकारको प्रशासनअन्तर्गत तिब्बत प्रत्यक्ष रूपमा एक प्रशासनीक क्षेत्र घोषित भयो । त्यतिबेलादेखि तिब्बतमा अनेकौँ वंश परिवर्तन भए तर तिब्बत भने चीनको केन्द्रीय सरकारको क्षेत्राधिकारभित्रै पर्ने गर्छ ।

सन् १३६८ मा मिङ्ग वंश (सन् १३६८–१६४४) ले युआन वंशलाई ढलाउँदै तिब्बतमाथि शासन चलाउने अधिकार प्राप्त गर्यो । यसले तिसाङ्ग इटिनरेन्ट हाई कमान्डरी र एमडु–खाम्स इटिनरेन्ट हाई कमान्डरीलाई क्रमशः मध्य र पूर्व तिब्बतमा लागू गर्यो । पश्चिमी तिब्बतको गारीमा सेना नागरिक मार्सल कार्यालयको स्थापना गरियो ।

क्विङ्ग वंश (सन् १६४४–१९११) ले मिङ्ग वंशलाई हटाएपछि तिब्बतको प्रशासन बलियो भयो । सन् १६५३ र १७१३ मा क्विङ्गका शासकले पाँचौँ दलाई लामा र पाँचौँ पन्चेन लामाको टाइटलको सुरुवात गरे । सन् १७२७ क्विङ्ग सरकारले तिब्बतमा अम्बान भनिने ग्रान्ड मिनिस्टर रेसिडेन्स पोस्टको स्थापना गरे ।

सन् १७९१ मा क्विङ्ग सरकारले तिब्बतको मामिलालाई ग्रान्ड मिनिस्टर रेसिडेन्स र दलाई लामाको संयुक्त रूपमा प्रशासन गर्नुपर्ने भन्दै सेना परिचालन गर्यो । सन् १९७३ मा क्विङ्ग अदालतले तिब्बतमा राजनीतिक, आर्थिक र धार्मिक मामिलामा उत्कृष्ट प्रशासनका लागि शाही अध्यादेश जारी गर्यो । सन् १९११ को क्रान्तिले क्विङ्ग वंशलाई ढालेपछि सन् १९१२ मा चीनमा गणतन्त्र (सन् १९१२–१९४९) को स्थापना भयो ।

सन् १९४९ अक्टोबर १ तारिखमा जनवादी गणतन्त्र चीनको स्थापना भयो । सन् १९५१ मे २३ तारिखमा तिब्बतलाई स्वतन्त्र क्षेत्रको रूपमा स्थापित गर्न केन्द्रीय सरकार र स्थानीय सरकारबीच सम्झौता भयो । र, सन् १९५६ मा तिब्बत एक स्वायत्त क्षेत्रका रूपमा स्थापित भयो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *